शुक्रवार, चैत्र ६ २०७७
नेपाल वाइड
खोटाङ । चैत ६, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा बुवालुङस्थित अन्नपूर्ण माविको रिक्त राहत दरबन्दीमा १६ महिनापछि शिक्षक नियुक्तीको प्रकृया थालिएको छ । लामो समयदेखि रिक्त रहेको प्रावि तहको दुई वटा र निमावि तहको एक वटा राहत दरबन्दीमा शिक्षक नियुक्तीका लागि शनिबार परिक्षा सञ्चालनको तयारी गरिएको अन्नपूर्ण माविका प्रअ रेखादेबी बस्नेत राउतले बताईन् ।
अन्नपूर्ण माविको प्रावि राहत दरबन्दीमा कार्यरत शिक्षिका किसन राई र बरुणा राई स्थायी भएर अन्यत्र गएपछि २०६७ साल मंसिर १ गतेदेखि दरबन्दी रिक्त छ । यस्तै, निमावि तहमा गणित विषय पढाउँदै आएका शिक्षक दिनेश आचार्य नासुमा नाम निकालेर गएपछि २०७६ साल मंसिर १५ गतेदेखि सो दरबन्दी रिक्त छ ।
मावि तहमा समेत गणित विषय पठन–पाठन गराइरहेका शिक्षक आचार्य नासुमा उत्तिर्ण भएर हिँडेपछि त्यस यता अन्नपूर्ण माविका छात्र/छात्रा गणित विषयको पठन–पाठनबाट लगभग बञ्चित छन् । अघिल्लो शैक्षिक–सत्रमा अन्य विषयका शिक्षकलाई गणित पढाउन लगाइए पनि चालु शैक्षिक–सत्र गणित विषयको पढाइ हुन सकेको छैन ।
रिक्त राहत प्रावि दरबन्दीमा ७ जना र निमावि राहत दरबन्दीमा १ जनाको आवेदन गरेको विद्यालयले जनाएको छ । गत शनिबारका लागि तय गरिएको शिक्षक छनौट परिक्षा ठीक एक हप्ता पछि सारिएको हो । रिक्त राहत दरबन्दीमा शिक्षक नियुक्तीका लागि करिब महिना दिनअघि अनुमति दिइएको नगरपालिकाका शिक्षा शाखाका छैठौं अधिकृत तिर्थ बिश्वकर्माले बताए ।
आन्तरिक द्धन्द्धमा फसेका कारण अन्नपूर्ण माविमा पटक–पटक प्रयास हुँदा पनि लामो समयसम्म रिक्त दरबन्दीमा शिक्षक नियुक्ती हुन नसकेको हो । वडाध्यक्ष लिला चौहान र विद्यालय व्यवस्थापन समितिका पुर्वअध्यक्ष जेपी राईबिचको द्धन्द्धका कारण विद्यालय समेत द्धन्द्धमा फसेको हो । द्धन्द्ध चर्किदै गएको अवस्थामा राईलाई विव्यासबाट हटाएर भीम राउतलाई अध्यक्ष बनाएको जनाइएको छ ।