बिहिवार, चैत्र १२ २०७७
नेपाल वाइड
खोटाङ । चैत १२, जंगलमा लागेको डढेलोले खोटाङमा चार घर र एक वटा बाख्रा फर्म जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित तीन वटा सामुदायीक वनमा फैलिएको डढेलो गाउँमा पस्दा बसेरीका तेजबिनोद ढकाल, हेमसागर ढकाल, खेमराज ढकाल र बडहरेका दुर्गाबहादुर भुजेलको घर जलेको हो । स्थानीय जुरेथुम्का सामुदायीक वन र साँघुरी सामुदायीक वनमा लागेको डढेलोले बसोबास नभएको घर जलेको हो ।
घरमा ताल्चा लगाएर तराईमा बसाई सरिसकेका तीन ढकाल परिवारको घरभित्रको भाँडाकुँडा भने निकालेर जोगाइएको स्थानीय सागर खनालले बताए । ८ वर्षअघि जंगलमा लागेको डढेलोमा घर गुमाएका ढकाल परिवारले पुःननिर्माण गरेको घर पुःन डढेलोले खाएको हो । उसबेला बिष्णुप्रसाद खनालको घर पनि डढेलोले जलेको थियो । गाउँमा पसेको डढेलोले सहकारीबाट एक लाख ७० हजार अनुदान लिएर बनाएको भुजेलको बाख्रा फर्म समेत खरानी भएको स्थानीय किसन भुजेलले बताए । भुजेलको घरमा भने वर्षा याममा मात्र बसोबास गर्ने गरिएको थियो ।
आगो नियन्त्रणका लागि दिक्तेलबाट नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी बलको टोली डढेलो प्रभावित क्षेत्र पुगेको छ । अहिले पनि सुरक्षाकर्मी र स्थानीयले डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन् । आगो नियन्त्रणमा चम्पावती माबिका कक्षा ९ र १० का छात्र/छात्रा र शिक्षक समेत खटिएका छन् । डढेलोले तीन घर जलेको जानकारी आए पनि क्षतीको बिस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले बताए ।
हलेसी तुवाचुङ नगपालिका–११ राजापानीतर्फबाट तीन दिनअघि सुरु भएको डढेलो बिजयखर्कको साँघुरी सामुदायीक वन हुँदै अन्य वनमा प्रवेश गरेको हो । डढेलोबाट घर जोगाउनका लागि कतिपय स्थानीयले छानामा पानी छ्यापेर बसिरहेका छन् ।
आगोबाट घर जोगाउनका लागि छानामा पानी छ्याप्नेक्रममा लडेर स्थानीय मोहन बिश्वकर्मा घाईते भएका छन् । उनको देब्रे हात भाँचिएको छ । उनलाई एम्बूलेन्समा राखेर उपचारका लागि स्वास्थ्य संस्था पठाइएको खनालले बताए । डढेलोले जुरेथुम्का सामुदायीक वनको पुर्व र पश्चित मोहडा, साँघुरी सामुदायीक वन र भुन्टेम्मा सामुदायीक वनको अधिकांश भाग जलिसकेको छ ।