शुक्रवार, चैत्र १३ २०७७
नेपाल वाइड
खोटाङ । चैत १३, खोटाङमा जंगलमा लागेको डढेलो गाउँ पस्दा दिनानुदिन क्षती हुन थालेको छ । स्थानीय रक्तमाला सामुदायीक वनमा लागेको डढेलोले बराहपोखरी गाउँपालिका–१ बराहपोखरी दानसिंका शिवराज आले मगरको घर जलेको छ । डढेलोका कारण मगरको बिहिबार घरमा आगलागी भएको हो ।
दुई तले घर तथा घरमा भएका अन्न, लत्ताकपडा, सरसामान लगायत जल्दा करिब ४ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक सागर शाहले बताए । रक्तमाला सामुदायीक वनमा लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । यद्यपी, मानव वस्ती भने डढेलोको जोखिममा नरहेको प्रहरीले जनाएको छ ।
यस्तै, सल्लेरी सामुदायीक वनमा लागेको डढेलोले शुक्रबार खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेका निर्मला पोखरेलको गोठ जलेको छ । गोठ जल्दा पोखरेलको ६० हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ । सो स्थानमा लागेको डढेलो पनि हालसम्म नियन्त्रण बाहिर छ । यस्तै, भान्छा कोठाबा सल्किएको आगोले केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका बृद्ध हर्कबहादुर राईको घर जलेको प्रहरी निरिक्षक शाहले बताए ।
रानी सामुदायीक वनमा लागेको डढेलोले बिहिबार केपिलासगढी गाउँपालिका–३ बासपानी पोखरीका पदमबहादुर खड्काको घर जलेको थियो । यस्तै, सामुदायीक वनमा फैलिएको डढेलो गाउँमा पस्दा बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित बसेरीका तेजबिनोद ढकाल, हेमसागर ढकाल, खेमराज ढकाल र बडहरेका दुर्गाबहादुर भुजेलको घर जलेको थियो ।