शनिवार, चैत्र १४ २०७७
नेपाल वाइड
खोटाङ । चैत १४, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा बुवालुङस्थित अन्नपूर्ण माविमा रिक्त रहेको १६ महिनापछि तीन शिक्षक नियुक्ती गरिएको छ । २०७६ साल मंसिरदेखि रिक्त प्रावि राहत दरबन्दीमा दुई जना र निमाबि तहको राहत दरबन्दीमा एक जना शिक्षक नियुक्ती गरिएको हो ।
रिक्त रहेको लामो समयपछि प्रावि राहत दरबन्दीमा रुपक बुढाथोकी र तर्कराज देउजा तथा निमाबिमा असल राईलाई नियक्ती गरिएको अन्नपूर्ण माविका प्रअ रेखादेबी बस्नेत राउतले बताईन् । रिक्त दरबन्दीमा शिक्षक नियुक्तीका लागि शनिबार परिक्षा सञ्चालन गरिएको थियो । रिक्त राहत प्रावि दरबन्दीमा ७ जना र निमावि राहत दरबन्दीमा १ जनाको आवेदन परेको विद्यालयले जनाएको छ ।
विद्यालयमा वर्षौँसम्म शिक्षक नियुक्ती नहुँदा पठन–पाठन प्रभावित भएको थियो । अन्नपूर्ण माविको प्रावि राहत दरबन्दीमा कार्यरत शिक्षिका किसन राई र बरुणा राई स्थायी भएर अन्यत्र गएपछि २०६७ साल मंसिर १ गतेदेखि दरबन्दी रिक्त बनेको थियो ।
यस्तै, निमावि तहमा गणित विषय पढाउँदै आएका शिक्षक दिनेश आचार्य नासुमा नाम निकालेर गएपछि २०७६ साल मंसिर १५ गतेदेखि सो दरबन्दी रिक्त थियो । मावि तहमा समेत गणित विषय पठन–पाठन गराइरहेका शिक्षक आचार्य नासुमा उत्तिर्ण भएर हिँडेपछि अन्नपूर्ण माविका छात्र/छात्रा गणित विषयको पठन–पाठनबाट बञ्चित बनेका थिए ।
अघिल्लो शैक्षिक–सत्रमा अन्य विषयका शिक्षकलाई गणित पढाउन लगाइए पनि चालु शैक्षिक–सत्र गणित विषयको पढाइ हुन नसकेको प्रअ राउतले बताईन् । आन्तरिक द्धन्द्धमा फसेका कारण अन्नपूर्ण माविमा पटक–पटक प्रयास हुँदा पनि लामो समयसम्म रिक्त दरबन्दीमा शिक्षक नियुक्ती हुन नसकेको हो ।
वडाध्यक्ष लिला चौहान र विद्यालय व्यवस्थापन समितिका पुर्वअध्यक्ष जेपी राईबिचको द्धन्द्धका कारण विद्यालय समेत द्धन्द्धमा फसेको हो । द्धन्द्ध चर्किदै गएको अवस्थामा राईलाई विव्यासबाट हटाएर भीम राउतलाई अध्यक्ष बनाएको जनाइएको छ ।