आइतवार, चैत्र १५ २०७७
नेपाल वाइड
खोटाङ । चैत १५, खोटाङको त्रि–धार्मिक स्थल हलेसीमा फोन–पे मार्फत दान तथा भेटी चढाउने व्यवस्था मिलाइएको छ । हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको हलेसीमा संकलन हुने भेटी वापतको रकमलाई पारदर्शी तरिकाले जम्मा गर्नका लागि फोन–पे मार्फत दान गर्न वा भेटी चढाउन मिल्ने व्यवस्था मिलाइएको हो ।
फोन–पे मार्फत गरिएको दान सिधै माछापुछ्रे बैंकको हलेसी शाखामा खोलिएको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा हुने हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए । धार्मिकस्थल हलेसीलाई प्रविधिमैत्री बनाउँदै भेटी वापत संकलन हुने रकममा पारदर्शीता कायम गर्न माछापुछ्रे बैंकका प्रमुख व्यवसाय अधिकृत भरतकुमार लम्सालले हलेसी महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्कराज राईलाई क्यूआर कोड हस्तान्तरण गर्नु भएको छ ।
नगरपालिकाका नगरप्रमुख इवन राई, उपप्रमुख बिमला राई, माछापुछ्रे बैंकका १ नम्बर प्रदेश प्रमुख दिपेन्द्रप्रसाद वाग्ले, २ नम्बर प्रदेश प्रमुख डिल्लीराम गिरी, सोही बैंकका डिजिटल बैंकिङ डिपार्टमेन्ट प्रमुख विनय रेग्मी, हलेसी शाखाका मेनेजर चिरञ्चिवी थापा लगायतको उपस्थितिमा क्यूआर कोड हस्तान्तरण गरिएको हो ।
आगामी दिनमा हलेसीमा आएका दर्शनार्थी वा पर्यटकले क्यूआर कोडमार्फत भेटी वा दान गर्न सक्ने छन् । हलेसी आउन नसक्ने बिश्वका जुनसुकै ठाउँका दर्शनार्थीले पनि फोन–पे मार्फत सिधै हलेसीको नाममा दान गर्न सक्ने नगरप्रमुख राईले बताउनुभयो । हलेसीमा आएका पर्यटक एवं दर्शनार्थीले समेत नगद भेटी चढाउनुको सट्टा फोन–पे मार्फत भेटी चढाउन सक्ने छन् ।
हलेसी आएका दर्शनार्थीले चढाएका भेटी र गरेका दानलाई पारदर्शी तरिकाले संकलन गर्ने र अपचलन हुनबाट बचाउनका लागि फोन–पे प्रविधि फलदायी हुने नगरप्रमुख राईले बताउनुभयो ।