बुधवार, चैत्र १८ २०७७
नेपाल वाइड
खोटाङ । चैत १८, वर्षासँगै चलेको हावाहुरीले खोटाङको विभिन्न स्थानमा घर तथा विद्यालयमा क्षती पुर्याएको छ । मंगलबार राती वर्षा सँगै हावाहुरी चल्दा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी आहालेका सुवास कार्कीको घरको जस्ताको छाना र तलामा राखेको धान र कोदो समेत उँडाएको छ ।
कार्कीको घरको जस्ता हावाहुरीले उँडाएर टाढा–टाढा पुर्याएर पाखामा छरपस्ट बनेको युवा नेता किसन भुजेलले जानकारी दिए । कार्कीको ढुंगा माटोले बनेको तीन तले घरको सिरान तलामा राखिएको १५ मुरी धान र ५ मुरी कोदो पनि हावाहुरीले उँडाएको प्रहरीले जनाएको छ ।
यस्तै, हावाहुरीले ढालेको उत्तिसको रुखले किच्दा दिप्रुङचुईचुम्मा गाउँपालिका–१ याम्खाका निरबहादुर गुरुङको टायलले छाएको घरमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सागर शाहले बताए । ढलेको रुखले किच्दा गुरुङको घरको करिब २२० वटा टायल खसेको छ ।
यस्तै, हावाहुरीले दिप्रुङचुईचुम्मा गाउँपालिका–१ याम्खास्थित महेन्द्रोद्धय माबिको एक दर्जन जस्ता उँडाएको जानकारी आएको प्रहरी निरिक्षक शाहले बताए । सोही हावाहुरीले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीमा ट्राफिक प्रहरीका लागि राखिएको सिसि क्यामेरा बिगारेको प्रहरीले जनाएको छ ।