सोमवार, चैत्र २३ २०७७
नेपाल वाइड
खोटाङ । चैत २२, जंगलमा लागेको डढेलो गाउँमा पस्दा खोटाङको खोटेहाङ गाउँपालिकामा कटेरा सहित नौ घर जलेको छ । स्थानीय मड्केमा सामुदायीक वनमा लागेको डढेलो गाउँ प्रवेश गर्दा आईतबार साँझ खोटेहाङ गाउँपालिका–७ खोटाङबजार पुरानो गाउँका छविलाल ढकाल, मिलन गेलाल, इन्द्रबहादुर भुजेल, यमबहादुर भुजेल, गोपाल ढकालको घर तथा कटेरा जलेको हो ।
यस्तै, सोही डढेलोले खोटाङबजार रातामाटाका बिष्णुमायाँ भुजेल, उद्धव भुजेल, खड्गबहादुर भुजेल र नरबहादुर भुजेलको घर तथा कटेरा जलेर नष्ट भएको खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए । बसिरहेको घर तथा कटेरा जल्दा नौ परिवार बिस्थापित भएका छन् । डढेलोमा तीन तले घर जल्दा छविलालको अन्दाजी २० लाख बराबरको क्षती भएको अनुमान गरिएको छ ।
घर जल्दा मिलनको साँढे तीन लाख, यमबहादुरको दुई लाख, इन्द्रबहादुरको एक लाख बराबरको धनमालमा क्षती भएको छ । यस्तै, बस्दै आएको कटेरा जल्दा गोपालको एक लाख बराबरको क्षती भएको अनुमान गरिएको छ । डढेलोले घर जल्दा नरबहादुरको दुई लाखको क्षती भएको छ । उनको छोराले बिदेशबाट पठाएको साँढे दुई लाख पनि जलेको प्रहरीले जनाएको छ ।
घर जल्दा उद्धवको दुई लाख, बिष्णुमायाँको बस्न प्रयोग भइरहेको कटेरा जल्दा एक लाख र खड्गबहादुरको एक लाख बराबरको क्षती भएको अनुमान गरिएको छ । दमकललाई प्रयोग गरेर आगो निभाइएकाले अन्य घरलाई भने डढ्नबाट जोगाइएको गाउँपालिका अध्यक्ष राईले बताए ।
वस्तीको चारैतिरबाट डढेलो छिरेकाले नियन्त्रणमा लिन कठिन भएको थियो ।
अहिले जंगलमा डढेलो गइरहेको भए पनि मानव वस्ती भने खतरामुक्त बनेको छ । डढेलोबाट वस्तीमा फैलिएको आगो नियन्त्रणका लागि ईलाका प्रहरी कार्यालय खोटाङबजारका प्रहरी निरिक्षक सुमित कुसवाहा नेतृत्वको प्रहरी, स्थानीयवासी, युवा खटिएका थिए । घट्नास्थलमा गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष कविता राई लगायत पुगेका थिए ।