Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जिल्ला प्रहरी कार्यालयमा हिरासत पुस्तकालय स्थापना अभियान

    जिल्ला प्रहरी कार्यालयमा हिरासत पुस्तकालय स्थापना अभियान


    • शुक्रवार, चैत्र २७ २०७७

    • नेपाल वाइड


    जिल्ला प्रहरी कार्यालयमा हिरासत पुस्तकालय स्थापना अभियान
    हिरासत पुस्तकालयलाई पुस्तक प्रदान गर्दै पत्रकार हरिबोल आचार्य र अधिवक्ता ओमप्रकाश घिमिरे ।

    खोटाङ । चैत २७, जिल्ला प्रहरी कार्यालय खोटाङले हिरासतमा पुस्तकालय स्थापनाको अभियान सुरु गरेको छ । बिभिन्न मुद्धामा पक्राउ परी अनुसन्धानकाक्रममा हिरासतमा राखिने थुनुवालाई लक्ष्यित गर्दै जिल्ला प्रहरी कार्यालयले हिरासत पुस्तकालय स्थापनाको अभियान सुरु गरेको हो ।

    अभियानको छोटो समयमै हिरासत पुस्तकालयको पारदर्शी र्‍याकमा ८४ थान पुस्तक संकलन भइसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायणप्रसाद चिमरियाले बताए । हालसम्म हिरासत पुस्तकालयलाई जिल्ला निर्वाचन अधिकारी कोपिला राईले १८ थान, राष्ट्रिय मानव अधिकार आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलले १४ थान, जिल्ला प्रशासन कार्यालय खोटाङले ९ थान, बिन्दु अधिकारी ढकालले ३ थान, प्रहरी निरिक्षक सागर शाहले ७ थान, प्रहरी सहायक निरिक्षक हरिकुमार पौडेलले २ थान पुस्तक प्रदान गरिसकेका छन् ।

    प्रहरीको हिरासत पुस्तकालयलाई सहयोग स्वरुप शुक्रबार एकै दिन ३१ थान पुस्तक प्राप्त भएको छ । हलेसीखबर डटकमका सम्पादक हरिबोल आचार्यले पाँच हजार बराबरको १९ थान पुस्तक प्रदान गरेका छन् ।

    प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य एवं हलेसी न्यूज नेटवर्कका अध्यक्ष रहेका आचार्यले डिएसपी चिमरियालाई द्रौपदी, रक्तबीज, शुक्रनीति, बागीना, चानक्य नीति, राजीनामा, आदिबासी बिद्रोहको इतिहास, नम्रता, भूमीसूक्त, करिया लगायतका नयाँ पुस्तक हस्तान्तरण गरेका छन् ।

    यस्तै, अधिवक्ता ओमप्रकाश घिमिरेले सम्वन्धहरु, सेतो धरती, जात र वार्ता, फिरफिरे, पानीको घाम, लीलाबोध, उल्झन, करोडौंको कस्तूरी लगायतका १२ थान पुस्तक हस्तान्तरण गरेका छन् । अधिवक्ता घिमिरेले आफुले पढिसकेका पुस्तक प्रहरी निरिक्षक शाहलाई हस्तान्तरण गरेका छन् ।

    हिरासतमा बसेर खाली समय बिताइरहेका थुनुवालाई समयको सदुपयोग गर्ने वातावरण निर्माण गर्दै उनीहरुको मानसिकतामा सकरात्मक परिवर्तन ल्याउनका लागि पुस्तकालयको अवधारणा अघि सारिएको डिएसपी चिमरियाले बताए ।

    जो सुकैले आफुले अध्ययन गरिसकेका पुस्तक वा नयाँ पुस्तक उपलव्ध गराएर प्रहरीको सो पुस्तकालय स्थापना अभियानमा सहभागी हुन पाइने छ । पुस्तक उपलव्ध गराउने व्यक्तीको नाम, ठेगाना र मिति उल्लेख गरेर दर्ता गर्ने व्यवस्था मिलाइएको छ ।

    यस्तै, पुस्तक अध्ययन गर्न चाहने थुनुवाको नाम, मुद्धाको प्रकृति, पुस्तक लगेको मिति, फिर्ता गरेको मिति उल्लेख रेकर्ड राख्ने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । हिरासत नजिकै स्थापना गरिएको पुस्तकालयमा कम्तीमा एक हजार पुस्तक जुटाउने लक्ष्य राखिएको छ । कतिपय थुनुवाले टाइम पासका लागि पुस्तकालयको पुस्तक माग्ने गरेको प्रहरी निरिक्षक शाहले बताए ।

    सम्बन्धित समाचार