शनिवार, चैत्र २८ २०७७
नेपाल वाइड
खोटाङ । चैत २८, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा राखिने यलम्बरको मुर्ती निर्माणमा भइरहेको ढिलासुस्तीबारे स्थानीयले आवाज उठाउन थालेका छन् । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को प्रदेश समपूरक अनुदान कार्यक्रम र नगरपालिकाको लागत सहभागितामा बुईपामा यलम्बरको मुर्ती सहितको रमणीय पार्क निर्माणको काम सुरु गरे पनि मुर्ति निर्माणमा ढिलासुस्ती भएको युवा नेता मिलन राईले बताएका छन् ।
‘१२ करोडमा तामाको गुणस्तरिय अनि आकर्षक मुर्ती एक सँस्थाले बनाउदै गर्दा हाम्रो बुईपामा बन्ने यलम्बरहाङ्गको मुर्ति निर्माणको काममा किन ढिलाई हुँदैछ,’ युवा नेता राईले फेसबुकमा लेखेका छन्, ‘हामीलाई चिन्ता लाग्नु स्वभाबिक हो ।’ ललितपुरमा बिश्वकै ठूलो भैरवको मूर्ति निर्माण भइरहेको समाचार शेयर गर्दै राईले बुईपामा राखिने यलम्बरको मुर्ति निर्माणमा भइरहेको ढिलासुस्तीका बारेमा चासो देखाएका हुन् ।
निर्माणाधिन एलम्बर पार्कमा राखिने सय फिट अग्लो यलम्बरको मुर्ती निर्माणका लागि किरात राई यायोक्खाले २०७६ साल असोजमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई एलम्बरको स्केच प्रदान गरिसकेको छ । पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले बुईपामा करिब ३० रोपनी क्षेत्रभित्र किरात राईको प्रथम राजा एलम्बरको मुर्ती सहितको पार्क निर्माणको काम अघि बढाएको हो ।
कुल लागतको ७० प्रतिशत रकम प्रदेश सरकारले र ३० प्रतिशत रकम नगरपालिकाले बेहोर्ने शर्तमा नगरपालिका र प्रदेश सरकारबीचमा २०७६ साल जेठमा सम्झौता भइसकेको छ । घुमफिर गर्ने ठाउँ, बिश्राम गर्ने फलामे कुर्सी, फ्री–वाईफाई, कफी तथा फास्टफुड लगायतका आधुनिक सेवा सुबिधा सहितको संरचना निर्माण गरिने एलम्बर पार्कमा नगरपालिकाले एलम्बरको अग्लो मुर्ती राख्ने योजना अघि सारेको हो ।
मूर्ति निर्माण कार्यको नर्म्स सहितको दररेट नगरपालिकामा नभएको, अन्य निकायमा बुझ्दा मूर्ति निर्माणको नर्म्स सहितको दररेट उपलव्ध हुन नसकेको तथा मूर्ति निर्माणको नर्म्स सहितको दररेट बिना मूर्ति निर्माण कार्यको शिलबन्दी बोलपत्र प्रकाशन गर्न कठिनाई भएको भन्दै नगरपालिकाले २०७७ साल जेठ २० गते आकार र साइजको फाउण्डेसन सहितको मूर्ती निर्माणको नर्म्स सहितको दररेट उपलव्ध गराउन ७ दिने सूचना प्रकाशित गरेको थियो ।