Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    राष्ट्रपति रनिङ शिल्डमा दौडिरहेका छात्रमाथि कुटपिट

    राष्ट्रपति रनिङ शिल्डमा दौडिरहेका छात्रमाथि कुटपिट


    • मंगलवार, चैत्र ३१ २०७७

    • नेपाल वाइड


    राष्ट्रपति रनिङ शिल्डमा दौडिरहेका छात्रमाथि कुटपिट
    सांकेतिक तस्बिर

    खोटाङ । चैत्र ३१, खोटाङको साकेला गाउँपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा सहभागी छात्रमाथि शिक्षकबाटै कुटपिट भएको छ । छात्रतर्फको १ हजार ५ सय मिटर दौड प्रतियोगीतामा सहभागी बनेका साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माबिका छात्र दिपेन कार्कीमाथि प्रतियोगीताका सह–आयोजक रहेको साकेला गाउँपालिका–२ रतन्छास्थित साकेला माविका सह–प्रधानाध्यपक प्रकाश राई लगायतबाट कुटपिट भएको हो ।

    साकेला गाउँपालिका–२ रतन्छास्थित दारुलाटार खेलमैदानमा आयोजित प्रतियोगीतामा शनिबार ग्राउण्डमा कुदिरहेकै अवस्थामा छात्र कार्कीमाथि सह–प्रधानाध्यपक राई, अन्य शिक्षक र स्वयंसेवकबाटै कुटपिट भएको हो ।

    प्रतियोगीतामा खेलाडीले अनुशासन उल्लंघन गरेको अवस्थामा कारबाहीको प्रकृया अपनाउनुको सट्टा आयोजक रहेको विद्यालयका सह–प्रधानाध्यपकबाटै कुदिरहेको अवस्थामा छात्रमाथि कुटपिट गरिएको भन्दै दर्शकले विरोध जनाएका छन् ।

    श्रोतले पत्रकारलाई उपलव्ध गराएको भिडियोमा समेत दौड प्रतियोगीतामा कुदिरहेको अवस्थामा छात्रमाथि आक्रमण भएको देखिन्छ । दौड प्रतियोगीतामा कुदिरहेको अवस्थामा छात्रमाथि कुटपिट भएको भन्दै नेपाल विद्यार्थी संघ खोटाङका उपाध्यक्ष जीवन खत्रीले विज्ञाप्ती जारी गर्दै बिरोध जनाएका छन् ।

    प्रतियोगीतामा सहभागी विद्यार्थीमाथि आयोजक टिमबाटै भएको कुटपिटको घट्ना निन्दनीय र अक्षम्य भएको विज्ञाप्तीमा उल्लेख छ । नेविसंघले राष्ट्रपति रनिङ शिल्डजस्तो गरिमा बोकेको खेल प्रतियोगीतामा खेल संयोजकबाटै गुण्डागर्दी शैलीमा गरिएको कुटपिटको घटनामा संलग्न सबै व्यक्ती उपर कडा कारबाहीको माग गरेको छ । दौडमा सहभागी कार्कीले अर्का प्रतिष्पर्धीलाई बाटो छेकेका कारण सह–प्रधानाध्यपक राई नै आक्रमणमा उत्रेको दावी गरिएको छ ।

    साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का झंकारले राष्ट्रपति रनिङ शिल्डमा भएको विवाद तथा विधार्थीमाथि भएको भनिएको हातपात सम्बन्धि समिक्षात्मक भेला आगामी बैसाख ४ गते बोलाइएको बताए । गाउँपालिका अध्यक्ष खड्काले राजनैतिक दृष्टिकोणबाट अभिप्रेरित भएर चलखेल नगर्न आग्रह गरेका छन् ।

    ‘खेलकुद अनुशासन उल्लघंन गर्ने र घट्नामा संलग्न व्यक्ति तथा संस्थामाथि छानवीन गरि कार्वाही गर्ने व्यहोरा जानकारी गराउँदछु,’ गाउँपालिका अध्यक्ष खड्काले फेसबुकमा लेखेका छन्, ‘यस अवधिमा सरोकारवाला पक्ष सबैमा संयमित भई धैर्य गर्न समेत अनुरोध गर्दछु । यस घट्नालाई लिएर विभिन्न पक्षबाट भेगीय तथा राजनीतिक दृष्टिकोणबाट अभिप्रेरित भई गलत उद्देश्य राखि चलखेल नगर्न समेत अनुरोध गर्दछु ।’

    सम्बन्धित समाचार