शनिवार, बैशाख ४ २०७८
नेपाल वाइड
खोटाङ । बैसाख ४, खोटाङको साकेला गाउँपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । सामाजिक सुरक्षा भत्ता शिर्षकको लाखौं रकम चुहावट भइरहेको प्रतिबेदन सार्वजनिक भएको केही समयपछि साकेला गाउँपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो ।
एकै आर्थिक वर्ष ८७ लाखभन्दा बढि सामाजिक सुरक्षाभत्ता वापतको रकम चुहावट भएको प्रतिबेदन सार्वजनिक भएपछि साकेलाले दोश्रो चौमासिकदेखि नेपाल एसबिआई बैंक साकेला शाखामार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो । आइतबारदेखि वडा–वडामा शिबिर सञ्चालन गरेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरिएको साकेला गाउँपालिका अध्यक्ष अर्जुन खड्का झंकारले बताए ।
दोश्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता गत चैत १० गते निकासा भएको थियो । पञ्जिकरण शाखा प्रमुख डिल्लीमान राईका अनुसार साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा ४३३ जना, साकेला गाउँपालिका–२ रतन्छामा २९७ जना, साकेला गाउँपालिका–३ खिदिमामा १७४ जना, साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङमा ३०७ जना र साकेला गाउँपालिका–५ मात्तिम बिर्तामा २५२ जना लाभग्राही छन् ।
हालसम्म बैंकको शाखा कार्यालयबाटै सामाजिक सुरक्षा वितरण गरिरहेको गाउँपालिकाले हाल कोभिड–१९ को महामारी बल्झिने खतरा बढेपछि वडागतरुपमा पालो बाँडेको छ । वडा–वडामा मृत्यु भइसकेका, बसाई सरिसकेका वा अन्य व्यक्तीको नाममा ‘फेक डकुमेन्ट’ बनाएर सामाजिक सुरक्षा भत्ता दुरुपयोग भइरहेको पाइएपछि गाउँपालिकाले सो अनियमितता रोक्न अभियान नै चलाएको थियो ।
सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउनका लागि साकेलाले दावी बिरोधका लागि असोज ५ गते लाभग्राहीको नामावली सार्वजनिक गरेको थियो । ‘भोट बिग्रिने’ भन्दै जिल्लाका अन्य स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरणलाई चुस्त र पारदर्शी बनाउन हच्किने गरेको अवस्थामा साकेला गाउँपालिकाले भने सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउन हिम्मत गरेको थियो ।
कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै केपिलासगढी गाउँपालिकाले पालो गरेर बैंकमार्फत वडागतरुपमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । कोभिड–१९ को महामारीकाबेला भिडभाड हुन नदिनका लागि ७ वटै वडाका लाभग्राहीलाई सालपा बिकास बैंकमार्फत आलोपालो गरेर सामाजिक सुरक्षाभत्ता बाँडिएको गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए ।