शनिवार, बैशाख ११ २०७८
नेपाल वाइड
खोटाङ । बैसाख ११, खोटाङको दित्तेलमा चाम्लिङ भाषा सम्वन्धी छलफल तथा अन्तरक्रीया गरिएको छ । चाम्लिङ राई भाषाको संरक्षण र संवर्द्धनमा टेवा पुर्याउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा चाम्लिङ राई खाम्बातिम (मञ्च) दिक्तेल रुपाकोट मझुवागढी नगर समितिले शनिबार चाम्लिङ भाषा सम्वन्धी छलफल तथा अन्तरक्रीया गरेको हो ।
चाम्लिङ राई समुदायको बाहुल्यता रहेको स्थानीय तहमा चाम्लिङ भाषालाई सरकारी कामकाजको भाषा निर्धारण गर्न र मातृभाषाका माध्यमबाट आधारभुत तहसम्मको पठन–पाठनको व्यवस्थाका लागि उत्प्रेरणा जगाउने पहल स्वरुप छलफल तथा अन्तरक्रीया आयोजना गरिएको हो ।
जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा सहभागी चाम्लिङ भाषी वक्तालाई चाम्लिङ भाषाको संरक्षण र प्रवर्द्धनका लागि चाम्लिङ भाषालाई बाहुल्यताको आधारमा सरकारी कामकाजको भाषा निर्धारण गर्न र चाम्लिङ भाषामा पठन–पाठनका लागि पहल गर्न आग्रह गरिएको छ ।
कार्यक्रममा चाम्लिङ भाषाविद एवं अगुवाले मातृभाषाको संरक्षण र संवर्द्धनमा स्थानीय तहहरुको भूमीका, मातृभाषाको उत्थानमा स्वयं मातृभाषीको भूमीका, भाषाको सवलीकरण, बजेट तथा कार्यक्रम व्यवस्थापनका विषयमा चर्चा गरेका छन् ।
खोटाङका १० स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, साकेला गाउँपालिका र खोटेहाङ गाउँपालिकामा नेपाली भाषापछि दोश्रोमा चाम्लिङ भाषी जनसंख्या रहेको आधारमा चाम्लिङ भाषाविज्ञ एवं अगुवाले सोही भाषालाई कामकाजको भाषा निर्धारणका लागि प्रस्ताव गर्न र पाठ्यक्रम कार्यान्वयनमा ल्याउनका पहल गर्न सुझाव दिएका छन् ।
किरात राई चाम्लिङ खाम्बातिमका केन्द्रिय अध्यक्ष युवराज राईले कुल जनसंख्या ४६ हजार ९०३ रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १० हजार ८७४ जना चाम्लिङ भाषी वक्ता रहेको भाषा आयोग समक्ष सिफारिस गरिएको जानकारी दिए ।
यस्तै, कुल २९ हजार ५३२ जनसंख्या रहेको हलेसी तुवाचुङ नगरपालिकामा ७ हजार ७१० जना, २० हजार १७५ जनसंख्या रहेको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ५ हजार ८७ जना, ११ हजार ५९४ जनसंख्या रहेको साकेला गाउँपालिकामा ३ हजार ९५७ र २२ हजार ४७४ जनसंख्या रहेको खोटेहाङ गाउँपालिकामा ३ हजार ९३२ जना चाम्लिङ भाषी वक्ता रहेको प्रतिबेदन भाषा आयोग समक्ष पेश गरिएको खाम्बातिमले जनाएको छ ।
कार्यक्रममा पुर्व जिल्ला शिक्षा अधिकारी झुमप्रसाद राई, मुन्धुम अध्येता भोगीराज चाम्लिङ लगायतले मातृभाषा संरक्षण र मातृभाषा शिक्षाको बारेमा चर्चा गरेका थिए । मुन्धुम अध्येता चाम्लिङले शव्दकोष निर्माण, व्याकरण निर्माण र पुस्तक प्रकाशनमार्फत लोपोन्मुख भाषाको संरक्षण गर्न सकिने सुझाव दिएका छन् ।
पुर्व जिशिअ राईले मातृ भाषामा शिक्षा लिनबाट बञ्चित बालबच्चाको मनोविज्ञानमा भविष्यमा गम्भीर असर पर्ने चर्चा गरेका छन् । नेपालको संविधान २०७२, स्थानीय सकार सञ्चालन ऐन २०७४, अनिवार्य तथा निःशुल्क शिक्षा सम्वन्धी ऐन २०७५मा मातृभाषाबाट कक्षा १ देखि कक्षा ८ सम्मको शिक्षा दिने व्यवस्था छ ।
किरात राई चाम्लिङ खाम्बातिम केन्द्रिय समितिले तीन जना एकल महिलालाई नगद सहित सम्मान गरेको छ । एकल महिला भएर असहाय जीवन बिताइरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका चनुमायाँ राई, सुनकुमारी राई र जयकुमारी राईलाई जनही १५ हजार र प्रशंसा–पत्र सहित सम्मान गरेको हो ।

एकल महिलालाई किरात राई चाम्लिङ ङामैचिमै महिला बिभाग हङकङले स्थापना गरेको अक्षयकोषबाट २०७८ सालको उभौलीको अवसरमा सम्मान गरिएको हो । उनीहरुलाई वडाध्यक्ष विकास राई, टंकप्रसाद आचार्य, किरात राई चाम्लिङ खाम्बातिमका केन्द्रिय अध्यक्ष राई लगायतले खादा ओढाएर नगद तथा प्रशंसा–पत्र फ्रदान गरेका थिए । कार्यक्रम चाम्लिङ राई खाम्बातिम (मञ्च) दित्तेल रुपाकोट मझुवागढी नगर समितिका अध्यक्ष ध्यानबहादुर राईको सभापतित्वमा भएको थियो ।