आइतवार, बैशाख १२ २०७८
नेपाल वाइड
खोटाङ । बैसाख १२, सामाजिक सुरक्षा भत्ता वितरणका लागि साकेला गाउँपालिकाले भुक्तानी शिबिर सुरु गरेको छ । गत चैत १० गतेदेखि नेपाल एसबिआई बैंकको साकेला शाखाबाट दोश्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको गाउँपालिकाले वडामा पुगेर भुक्तानी शिबिर सुरु गरेको हो ।
आइतबार साकेला गाउँपालिका–३ खिदिमाबाट सुरु गरिएको भुक्तानी शिबिर आगामी बैसाख १७ गते साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङको पाउँदुरेमा टुंगिने पञ्जिकरण शाखा प्रमुख डिल्लीमान राईले बताए । खिदिमा वडा कार्यालयमा वडाध्यक्ष शिवकला राईले लाभग्राहीलाई सामाजिक सुरक्षाभत्ता हस्तान्तरण गर्दै भुक्तानी शिविर उद्घाटन गरेकी छन् ।
सामाजिक सुरक्षा भत्ता शिर्षकको लाखौं रकम चुहावट भइरहेको खुलासा भएको केही समयपछि साकेला गाउँपालिकाले बैंकमार्फत सम्वन्धित व्यक्तीको हातमा सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो ।
हाल कतिपय लाभग्राहीले बैंकमै पुगेर सामाजिक सुरक्षा भत्ता बुझिरहेका छन् । बैंकसम्म पुग्न नसक्ने लाभग्राहीका लागि भुक्तानी शिबिरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष अर्जुन खड्का झंकारले बताए ।