Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    ‘व्याण्ड भर्सेस ब्राण्ड’

    घरेलु मदिरालाई ‘व्यान्ड होईन ब्राण्ड’ बनाउन कार्यदल

    घरेलु मदिरालाई ‘व्यान्ड होईन ब्राण्ड’ बनाउन कार्यदल

    सम्भाव्यताका लागि आर्थिक, सामाजिक–सांस्कृतिक, वातावरणीय तथा कानूनी पक्षहरुको अध्ययन गरी कार्यान्वयनको प्रारम्भिक ढाँचा तयार पार्ने जिम्मेवारी प्रदान

    • सोमवार, बैशाख १३ २०७८

    • नेपाल वाइड


    घरेलु मदिरालाई ‘व्यान्ड होईन ब्राण्ड’ बनाउन कार्यदल
    ‘व्यान्ड होईन ब्राण्ड’को सम्भाव्यता अध्ययनका क्रममा गठित कार्यदलका सदस्यलाई जिम्मेवारी प्रदान गर्दै सामाजिक विकास मन्त्री उषाकला राई ।

    खोटाङ । बैसाख १३, सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ ले घरेलु मदिरालाई ब्राण्डिङ, बजारीकरण तथा प्रवर्द्धनका लागि सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदल गठन गरेको छ । घरेलु मदिरा (कोदोको रक्सी)लाई ‘व्यान्ड होईन ब्राण्ड’ बनाउनुपर्ने अभियान थालेकी प्रदेश नम्बर १ की सामाजिक विकास मन्त्री उषाकला राईको अवधारणा अनुसार प्रदेश नम्बर १ का योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरिएको हो ।

    नेपाली मौलिक सीप र कौशल प्रयोग गर्दै स्थानीय कच्चा पदार्थ कोदोबाट घरेलु मदिराको उत्पादन र उपभोग भइरहेको परिप्रेक्ष्यमा यस्ता उत्पादनलाई प्रोत्साहन गर्दै बजारीकरण गरेको खण्डमा कृषि उत्पादन वृद्धि, रोजगारी श्रृजना, गरिबी न्यूनीकरण, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्न सकिने तथा अर्थतन्त्रमा समेत सकरात्मक प्रभाव पार्ने सम्भावनालाई मध्यनजर गर्दै सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदल गठन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    कार्यदललाई सामाजिक विकास मन्त्री राईको अवधारणा कार्यान्वयन सम्भाव्यताका लागि आर्थिक, सामाजिक–सांस्कृतिक, वातावरणीय तथा कानूनी पक्षहरुको अध्ययन गरी कार्यान्वयनको प्रारम्भिक ढाँचा तयार पार्ने जिम्मेवारी दिइएको छ ।

    कोदोको रक्सीको वैधानिक तथा व्यावसायिक उत्पादन, संकलन, गुणस्तर परीक्षण, बोटलिङ, ब्राण्डिङ, बजारीकरण र प्रवर्द्धन गर्दै आन्तरिक खपतमा व्यापकता प्रदान गर्न सके आयात प्रतिस्थापनका साथै विदेशमा समेत निकासी गर्ने सम्भावना रहेकाले घरेलु मदिरालाई ‘व्याण्ड (प्रतिबन्ध) होईन ब्राण्ड’ बनाइनुपर्ने पक्षमा मन्त्री राईले वकालत गर्दै आएकी छन् ।

    घरेलु मदिरालाई ब्राण्डिङ, बजारीकरण तथा प्रवर्द्धनका सम्बन्धमा मन्त्री राईले अघि सारेको अवधारणा कार्यान्वयन सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदलका लागि कार्य क्षेत्रगत शर्त समेत तोकिएको छ । कार्य दललाई पहिलो बैठक बसेको मितिबाट ४५ दिनभित्र अध्ययन सम्पन्न गरी सुझाव सहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

    कार्यदलले नेपाली घरेलु मदिराको व्यावसायिक उत्पादनको लागि विद्यमान कानूनी प्रावधानमा संशोधन गर्नु पर्ने विषयको पहिचान, ‘व्याण्ड भर्सेस ब्राण्ड’ अवधारणा कार्यान्वयनको आर्थिक, सामाजिक, सांकृतिक र वातावरणीय प्रभावको पहिचान, प्रदेशभित्र कोदो उत्पादनको सम्भाव्यता, उत्पादन वृद्धि गर्न कृषकलाई आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहायताका सम्बन्धमा समेट्नु पर्ने नीतिगत पक्षको पहिचान गरेर प्रतिबेदन पेश गर्नुपर्ने छ ।

    यस्तै, कार्यदललाई घरेलु मदिराको उत्पादन, संकलन, गुणस्तर परीक्षण, बोटलिङ, ब्राण्डिङ र बजारीकरण प्रारुपको पहिचान, घरेलु मदिराको प्रवर्द्धनमा तिन वटै तहका सरकार तथा अन्य विषयगत निकाय र सरकार बाहेकका अन्य क्षेत्रको भूमिकाको पहिचान, अवधारणा कार्यान्वयन गर्दा स्थानीय श्रमको उपयोग तथा रोजगारी श्रृजना, जीविकोपार्जन तथा आर्थिक क्रियाकलापमा पार्ने प्रभाव लगायतको पहिचान गरेर सुझाव पेश गर्न भनिएको सामाजिक विकास मन्त्री राईले बताईन् ।

    मन्त्री राईले वर्षदिन अघिदेखि लोकल रक्सीमाथिको व्याण्ड (प्रतिवन्ध) फुकुवा गरेर ब्राण्ड बनाउनुपर्ने अवधारणा अघि सारेकी हुन् । लोकल रक्सीमाथिको प्रतिवन्ध फुकुवा गरेर औधोगीकरण गर्नुपर्ने आवाज उठाउँदै आएकी राई नै मन्त्री बनेपछि ‘व्याण्ड भर्सेस ब्राण्ड’ले साकार रुप लिने धेरैको अपेक्षा छ ।

    केही समयअघि प्रशासनको अगुवाईमा दिक्तेलमा लोकल रक्सी नष्ट गर्दा समेत सांसद राईले बिरोध जनाएकी थिईन् । उसो त चैत १३ गते पदभार ग्रहण लगत्तै मन्त्री राईले कोदोको लोकल रक्सीमाथिको व्याण्ड हटाएर ब्राण्ड बनाउने नारा प्रदेश नम्बर १ बाट लागू गर्न कोसिस हुने बिश्वास व्यक्त गरेकी थिईन् ।

    २०७७ साल असार १५ गते संसदको विनियोजन विधेयकमाथिको छलफलकाक्रममा लोकल रक्सीलाई व्यवसायीकरण र औधोगिकरण गर्न सके सिंगो देशको आर्थिक संवृद्धिमा टेवा पुग्ने भन्दै राईले ‘व्याण्ड भर्सेज ब्राण्ड’को नीति अख्तियार गर्नुपर्ने धारणा राखेकी थिईन् । लोकल रक्सीलाई व्याण्ड (प्रतिवन्ध) गर्ने हो भने विदेशी रक्सीलाई पनि व्याण्ड गर्नुपर्ने मन्त्री राईको भनाई छ ।

    सम्बन्धित समाचार