बुधवार, बैशाख १५ २०७८
नेपाल वाइड
खोटाङ । बैसाख १५, कोभिड–१९ को दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै खोटाङको त्रि–धार्मिकस्थल हलेसी मन्दिरलाई १५ दिनका लागि बन्द गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) खोटाङको बैसाख १३ गते बसेको बैठकको निर्णय अनुसार बुधबारदेखि हलेसी मन्दिर गुफा बैसाख मसान्तसम्मका लागि बन्द गरिएको हो ।
दैनिकजसो दर्शनार्थीको भीड लाग्ने हलेसी गुफा प्रवेश गर्ने गेटमा हलेसी महादेवस्थान बिकास समिति र हलेसी मन्दिर व्यवस्थापन समितिले ताला हालेको छ । दैनिक बिहान र बेलुका हुँदैआएको नित्य–नैनित्य पूजालाई भने निरन्तरता दिने गरी हलेसी मन्दिरको गेटमा ताला हालिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीमा उपस्थित हुने दर्शनार्थी एवं तिर्थयात्रीको भीडभाडका कारण एक अर्कामा कोभिड–१९ को संक्रमण फैलने खतरा बढेकाले हलेसी मन्दिर बन्द गरिएको हो । बिहान र बेलुकाको नित्य नैनित्य पूजाका क्रममा पुजारी र बाजा बजाउने नगर्ची मात्र हलेसी मन्दिर प्रवेश गर्न पाउने छन् ।
यसबिचमा हलेसी दर्शनमा आएका दर्शनार्थी एवं तिर्थयात्रीले गेट बाहिरबाटै दर्शन र पुजाआजा गर्नुपर्ने छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सहयोग पु¥याउने उद्देश्यले हलेसी प्रवेशमा रोक लगाइएको यो दोश्रो पल्ट हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)का अनुसार हलेसी सँगै जिल्लाका सबै मठ, मन्दिर, शक्तिपीठ, मस्जिद, गुम्बा र चर्चमा दैनिकरुपमा गरिने नित्य नैनित्य पूजा, प्रार्थना बाहेक भेला भएर गरिने पूजा, प्रार्थना, भजनकृतन, कलश यात्रा, बलिपुजा जस्ता धार्मिक कार्यहरु बैसाख मसान्तसम्म बन्द गरिएको छ ।