बुधवार, बैशाख १५ २०७८
नेपाल वाइड
खोटाङ । बैसाख १५, कोभिड–१९ का संक्रमितलाई लक्ष्यित गर्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३२ बेडको आइसोलेसन सेन्टर स्थापना गरेको छ । दिनानुदिन कोभिड–१९ को संक्रमण बढिरहेको तथा जिल्लामा पनि संक्रमण फैलने खतरालाई मध्यनजर गर्दै नगरपालिकाले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र्र दिक्तेलको भवनमा आइसोलेसन सेन्टर स्थापना गरेको हो ।
नगरपालिकाले नेपाली सेनाको सहयोगमा २७ जना पुरुष र ५ जना महिला संक्रमितलाई राखेर उपचार सेवा उपलव्ध गराउन मिल्नेगरी बिना अक्सिजनको आइसोलेसन सेन्टर निर्माण गरेको हो । कोभिड–१९ का सक्रिया संक्रमितलाई राखेर उपचार गर्ने व्यवस्थाका लागि आइसोलेसन सेन्टर निर्माण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) खोटाङको बैसाख १३ गते बसेको बैठकको निर्णय नगरपालिकाले आइसोसेलन सेन्टरको तयारी गरेको हो । नेपाली सेनाले नगरपालिकाले उपलव्ध गराएको सामग्रीबाट दुई दिन लगाएर आइसोलेसन सेन्टर तयार पारेको हो । हाल बेड मात्र राखिएको आइसोसेलन सेन्टरमा तत्काल अक्सिजन सिलिण्डरको व्यवस्था गरिने मेयर रिजालले बताए । आइसोसेलन सेन्टरमा विद्युत र पानी व्यवस्थापनको भने कमि देखिएको छ ।
