बुधवार, बैशाख १५ २०७८
नेपाल वाइड
खोटाङ । बैसाख १५, भूकम्पपछिको पुःननिर्माणकाक्रममा खोटाङमा सय वर्ष पुरानो गुम्बा पुःननिर्माणको तयारी गरिएको छ । २०७२ साल बैसाख १२ गतेको महाभूकम्पका कारण क्षती पुगेको केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तेछेन छोलिङ गुम्बा पुःननिर्माणको तयारी गरिएको हो । तेछेन छोलिङ गुम्बा सय वर्ष पुरानो भएकाले टेण्डरमार्फत पुःननिर्माणको प्रकृया अघि बढाइएको राष्ट्रिय पुःननिर्माण प्राधिकरणका इन्जिनियर अर्जुन रावलले बताउनुभयो ।
आर्थिक वर्ष २०७७/०७८ मा तीन वटा गुम्बा पुःननिर्माणका लागि प्राधिकरणबाट बजेट आएकामा अन्य दुई वटा गुम्बा पुःननिर्माणका लागि उपभोक्ता समितिसँग सम्झौता गरेर काम अघि बढाइसकिएको छ । प्राधिकरणले ५४ लाखमा ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कस्थित बुद्ध छोलिङ गुम्बा र ७९ लाखमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल मुढेस्थित थेकछोक मिन्ट्रोल सम्तेन छोलिङ गुम्बा पुःनर्निर्माणको काम अघि बढाएको हो ।
भूकम्पबाट क्षती पुगेका जिल्लाका ७ वटा गुम्बा पुःननिर्माणमा परेकामा अझै चार गुम्बाको बजेट आउन बाँकी रहेको राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार खोटाङले जनाएको छ ।