बिहिवार, बैशाख १६ २०७८
नेपाल वाइड
खोटाङ । बैसाख १६, असिना पानीसँगै परेको चट्याङले खोटाङमा दुई घर जलेको छ । बुधबार साँझ असिना पानीसँगै चट्याङ पर्दा रावाबेँसी गाउँपालिका–६ हौंचुर भैंसेका ज्ञानबहादुर खड्का र साकेला गाउँपालिका–३ खिदिमा सौर्यका सार्कीमान तामाङको घर जलेको हो । घर जल्दा दुई परिवार विस्थापित भएका छन् ।
चट्याङका कारण भएको आगलागीमा खड्काको दुई तले घर तथा अन्नपात, लत्ताकपडा, ५ तोला सुन ५, ३० तोला चाँदी, नगद ५० हजार लगायत जल्दा करिब १५ लाख २६ हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।
यस्तै, तामाङको फुसको छाना भएको एक तले घर, लत्ताकपडा, अन्नपात, जल्दा १ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
यसैबीच, चट्याङबाट लागेको आगोबाट घरविहिन बनेका ज्ञानबहादुरलाई रावाबेँसी गाउँपालिकाले राहत प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बिहिबार राहत स्वरुप घर मर्मतपछि लाग्ने जस्तापाता, त्रिपाल, ९० केजी चामल, एक काटन तेल, ५ केजी नुन, ५ केजी दाल लगायत प्रदान गरेका छन् ।