सोमवार, बैशाख २० २०७८
नेपाल वाइड
खोटाङ । ठीक एक महिना म्याद बाँकी रहँदा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सु खोलाको मोटरेबल पुलको बिम तथा स्ल्याव ढलान गरिएको छ । आगामी जेठ १७ गतेसम्म म्याद रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने साप्सु खोलाको प्रिस्ट्रेस बिम मोटरेबल पुल हप्ता दिन लगाएर ढलान गरिएको हो ।
निर्माण कम्पनी सुर्य एण्ड सन्स प्रालिले ४० मिटर लम्बाई भएको प्रिस्ट्रेस बिम पुलको बिम तथा स्ल्याव ढलानको काम बिहिबार पुरा गरेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए । निर्माण कम्पनी सुर्य एण्ड सन्स प्रालिले गाउँपालिकाका अध्यक्ष राईकै उपस्थितिमा गत बैसाख १२ गतेदेखि पुलको बिम तथा स्ल्याव ढलान सुरु गरेको थियो ।
पुलको ढलान सुकाउन र टेण्डम वायर तान्न कम्तीमा २८ दिन पर्खनु पर्ने सुर्य एण्ड सन्स प्रालिका प्रोजेक्ट ईन्चार्ज एबं एकाउन्टेन्ट हरिप्रसाद बरालले बताए । ढलान गरेको २८ दिनपछि टेण्डम वायर तानेपछि मात्र पुलको अन्य काम सुचारु हुने निर्माण कम्पनीले जनाएको छ ।
संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान तथा दिप्रुङ चुईचुम्मा गाउँपालिकाको संयुक्त वजेटमा साप्सु खोलामा पक्कीक पुल निर्माण सुरु गरिएको हो । मुल्या अभिबृद्धि कर सहित ५ करोड ६० लाख १० हजार ५४५ मा पुलको ठेक्का लिएको निर्माण कम्पनीले शिलान्यास भएको ६ महिनापछि मात्र काम सुरु गरेको थियो ।
स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी)को प्राविधिक सहयोगमा निर्माण सुरु गरिएको पुल दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष राईले २०७६ साल असार ११ गते शिलान्यास गरेका थिए । दिक्तेलबाट खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिका पुग्ने सबैभन्दा छोटो रुटमा पर्ने साप्सु खोलामा स्थायी आवतजावतका लागि प्रिस्ट्रेस बिम पुल निर्माणको काम अघि बढाइएको हो ।