सोमवार, बैशाख २० २०७८
नेपाल वाइड
खोटाङ । बैसाख २०, झापा चन्द्रगढीका साईकल यात्री तेजप्रसाद पराजुली (एभरेष्टबाबु)ले मुन्दुम ट्रेल (मुन्दुम मार्ग) यात्रा गरेका छन् । खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको रमणीय स्थलको पर्यटन प्रवद्र्धनका लागि परिकल्पना गरिएको मुन्दुम ट्रेलको प्रचार–प्रसारका लागि साईकल यात्री पराजुलीले साईकलबाटै मुन्दुम ट्रेलको यात्रा गरेका हुन् ।
साईकल कुदाएर नेपालका ७७ जिल्लाको यात्रा गरिसकेका पराजुलीले मुन्दुम ट्रेल अन्तरगत भोजपुर, सुन्तले, मैयूँडाँडा, हाँसपोखरी, दलसिंगे हुँदै चखेवाभञ्ज्याङबाट भोजपुर नै फर्किएको मुन्दुम ट्रेलका प्रवद्र्धक मैयूं–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवद्धन केन्द्र (एमटिएसएसटिसिपी)का अध्यक्ष रमेश राईले बताए ।
साल्पा सिलिचुङको टपसम्म साईकल पुर्याउने लक्ष्यका साथ बैसाख १६ गते मुन्दुम ट्रेलको यात्रा सुरु गरेका पराजुलीले कहिल्यै नहिँडेको बाटो, प्रतिकूल मौसम तथा साथमा सहयोगी नभएका कारण तीन दिनमै यात्रा टुंग्याएका छन् ।
मुन्दुम ट्रेलको प्रवद्र्धनमा आफ्नै खर्चमा सोलो साईकल यात्रा गरेर पुराजुलीले ‘मुन्दुम ट्रेलको पहिलो साईकल यात्री’को इतिहास रचेको अध्यक्ष राईले बताए । राईका अनुसार मुन्दुम ट्रेल एक्स्प्लोर गर्नेक्रममा वातावरण संरक्षणकर्मी देबेन्द्र बस्नेतले पनि साईकल यात्राका लागि चासो देखाएका थिए । तर कारणवस बस्नेतको यात्रा रोकिएको थियो
खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको रमणीय स्थल चखेवाभञ्ज्याङ, मैयुङडाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, साल्पा पोखरी, सिलिचुङडाँडा लगायतको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले २०७५ सालमा मुन्धुम ट्रेलको अवधारणा अघि सारिएको हो ।
आन्तरिक तथा वाह्य पर्यटकलाई यात्रा गराउँदै पर्यटन प्रवद्र्धन गर्ने र आन्तरिक आयआर्जन वृद्धि गर्ने लक्ष्यका साथ मुन्दुम ट्रेलको परिकल्पना गरिएको मैयूं–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवद्धन केन्द्रले जनाएको छ ।