शनिवार, बैशाख २५ २०७८
नेपाल वाइड
खोटाङ । बैसाख २५, कोरोना भाइरस (कोभिड–१९)को दोश्रो लहरको महामारीका कारण पर्यटकको आवागमन ठप्प हुँदा खोटाङको त्रि–धार्मिकस्थल हलेसीका होटल व्यवसाय धरासायी बनेको छ । कोभिड–१९ को दोश्रो लहर सुरु भएसँगै हलेसीमा आन्तरिक तथा बाह्य पर्यटक तथा दर्शनार्थीको आवागमन बन्द हुँदा होटल व्यवसायी मारमा परेका हुन् ।
हाल हलेसीमा सञ्चालनमा रहेका साना तथा ठूला लगानीका होटलमा ताला लागेको छ । ग्राहक नआउँदा हलेसीका होटल व्यवसायीलाई दैनिक औसतमा १० लाखको घाटा भइरहेको होटल व्यवसायी संघ हलेसीका अध्यक्ष रुद्र गिरीले बताउनुभयो ।
हलेसीमा सञ्चालनमा रहेका होटलका ग्राहक भनेका हलेसी मन्दिमा आउने पर्यटक एवं दर्शनार्थी हुन् । तर, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)को निर्णय अनुसार गत बैसाख १५ गतेदेखि बैसाख मसान्तसम्मका लागि हलेसी मन्दिर गुफा बन्द गरिएको छ ।
पर्यटक तथा दर्शनार्थीको आवागमन नहुँदा हलेसीबजारको अन्य व्यापार–व्यवसायमा समेत अशर परेको छ । हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको हलेसी आसपासमा साना तथा सुविधा सम्पन्न गरी सयको हाराराहीमा होटल सञ्चालनमा छन् ।
ठूला लगानीका करिब एक दर्जन होटलमा जग्गा भाडा, विद्युत, पानी, कामदारको तलव, लगानी गरेको व्याजवापत दैनिक कम्तीमा २० हजारदेखि ५० हजार खर्च भइरहँदा आम्दानी भने शुन्य रहेको अध्यक्ष गिरीले बताउनुभयो ।