सोमवार, जेठ १० २०७८
नेपाल वाइड
खोटाङ, जेठ १०, खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आइसोलेसनमा बस्ने संक्रमित, उनीहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मी, गाउँ प्रहरी र एम्बूलेन्स चालकलाई निःशुल्क खाना र खाजाको व्यवस्था गरेको छ ।
स्वास्थ्यमा जटिल समस्या भएपछि गाउँपालिकाले बनाएको आइसोलेसन सेन्टरमा आइपुगेका संक्रमित तथा तिनै संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी, गाउँ प्रहरी र एम्बूलेन्स चालकको सहजता र प्रोत्साहनमा खाना र खाजा निःशुल्क गरेको हो ।
आइसोलेसनमा आइपुगेका संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षामा खटिएका गाउँ प्रहरी र संक्रमित बोक्ने एम्बूलेन्स चालकलाई जुनसुकै होटलमा खाना र खाजा नदिने भएकाले गाउँपालिकाकातर्फबाट उनीहरुका लागि निःशुल्क खाना र खाजाको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताउनुभयो ।
संक्रमितको उपचारका लागि गाउँपालिकाले प्राथमिक स्वास्य केन्द्र ऐसेलुखर्कमा आइसोलेसन सेन्टर बनाएको छ । सो आइसोलेसन सेन्टरमा बसेका ५ जनामध्ये २ जना संक्रमित शनिबार डिस्चार्ज भएका छन् ।
संक्रमितलाई आइसोलेसन सेन्टरमा पुर्याउन र डिस्चार्ज भएपछि घरसम्म पुर्याउन पनि निःशुल्क यातायातको व्यवस्था मिलाइएको छ । संक्रमितलाई ओसारपसार गर्न एम्बूलेन्स प्रयोग गरिने गाउँपालिका अध्यक्ष निरौलाले बताउनुभयो ।
साकेला गाउँपालिकामा थप हप्ता दिनका लागि सिल अवधि लम्व्याएको छ । कोभिड–१९ को संक्रमण दर तिव्र गतिमा फैलिरहेको भन्दै गाउँपालिकाले आईतबारदेखि अझै ७ दिनका लागि सिल अवधि थप गरेको हो ।
५ वडा रहेको गाउँपालिकाभित्र आवतजावत गर्न नमिल्नेगरी सिललाई निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काले शनिबार जारी गरेको सूचनामा उल्लेख छ । यस अवधिमा कुनै भिडभाड, भोजभतेर, समिक्षा, गोष्ठी, तालिम नगर्न/नगराउन आग्रह गरिएको छ ।
गाउँपालिकाको आन्तरिक प्रशासनिक र अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रवाह बन्द गरिएको सूचनामा उल्लेख छ । गाउँपालिकाभित्रका बजारका खाद्यान्न पसल भने दैनिक बिहान ७ देखि बिहान ८ बजे मात्र खुला रहने जनाइएको छ ।