बिहिवार, जेठ १३ २०७८
नेपाल वाइड
खोटाङ । जेठ १३, खोटाङ, खोटाङमा भट्टराईको कुलपुजा देवालीको तयारी गरिरहेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । देवालीको पुर्वतयारीमा देवालीको अघिल्लो दिन गोठको धुप गरिरहेको अवस्थामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेबाट दुई पुजारी सहित पाँच जनालाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो ।
कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय खोटाङले जारी गरेको सूचना विपरित देवालीको तयारी गरिरहेको सूचनाका आधारमा पाँच जनालाई केही घण्टा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए ।
एक ठाउँमा भेला भएर गरिने विवाह, व्रतबन्ध जस्ता सामाजिक तथा धार्मिक कार्यका माध्यमबाट कोभिड–१९ को संक्रमण फैलिने खतरा बढेको भन्दै प्रशासनले त्यस्ता कार्यमा रोक लगाएको अवस्थामा देवालीको तयारी भइरहेको पाइएपछि स्थानीयलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।
पक्राउ परेका पाँच जनालाई कोभिड–१९ को महामारीको अवधिभर देवाली नगर्ने शर्तमा छाडिएको डिएसपी चिमोरियाले बताए । खाल्लेका भट्टराई समुदायले तीन वर्षपछि कुलपुजा गर्न लागेका थिए ।
राज्यको नियम अनुसार नै सामाजिक दुरी कायम गरेर देवालीको तयारी गरिरहेको अवस्थामा धरपकड भएको वडासदस्य उमेश भट्टराईले बताए ।
जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि समुहमा गरिने कुल पुजा (देवाली), साकेला पर्व लगायतका विभिन्न चाडपर्व र सामाजिक कार्यहरु नगर्न, गर्नै पर्ने भए घर परिवारभित्रका सदस्य मात्रको उपस्थितिमा विधि फुकाउनेगरी मनाउन आग्रह गरेको थियो ।