Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    बिरामीको उद्धारमा गाउँपालिका अध्यक्ष

    संक्रमितका घर–घरमा स्थानीय तहका जनप्रतिनिधि

    संक्रमितका घर–घरमा स्थानीय तहका जनप्रतिनिधि

    एन्टीजेन परीक्षणमा टोल–टोलमा मेयर र उपमेयर

    • शनिवार, जेठ २२ २०७८

    • नेपाल वाइड


    संक्रमितका घर–घरमा स्थानीय तहका जनप्रतिनिधि
    बिरामीको उद्धारमा खटिए दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई

    खोटाङ । जेठ २२, खोटाङको खोटेहाङ गाउँपालिकाका जनप्रतिनिधि कोभिड–१९ बाट संक्रमितको भेटघाटमा जुटेका छन् । संक्रमण पूष्टि भएपछि होमआइसोलेसनमा बसिरहेका संक्रमितको स्वास्थ्य अवस्था बुझ्न, आवश्यक परामर्श प्रदान गर्न र शान्त्वना दिनका लागि गाउँपालिका अध्यक्ष प्रदीप राई, उपाध्यक्ष कविता राई, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराई, अस्थायी कोभिड अस्पतालका डाक्टर प्रमोदकुमार यादव, सुरक्षाकर्मी लगायतको टोली भेटघाटमा जुटेका हुन् ।

     

    elected with infected by covid photo_khotang2.jpg

    कोभिड–१९ बाट संक्रमितको घरघरमा पुगेर भेटघाट गर्दै खोटेहाङ गाउँपालिकाका जनप्रतिनिधि

    जनप्रतिनिधि सहितको टोली खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी, खोटेहाङ गाउँपालिका–८ सिमपानी लगायतका वडाका संक्रमितलाई प्रत्यक्षरुपमा भेटिसकेका छन् । भेटघाटका क्रममा संक्रमितको श्वास प्रश्वासमा समस्या भए वा स्वास्थ्यमा जटिल समस्या देखिएको अवस्थामा उपचारमा पठाउने व्यवस्था मिलाउने गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

    कतिपयलाई एम्बूलेन्समा हालेर अस्थायी कोभिड अस्पताल वा जिल्ला बाहिरका अस्पतालमा पठाउने गरिएको छ । खोटेहाङ गाउँपालिकामा स्वास्थ्यसंस्थामा पुगेर एन्टीजेन परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

    स्वास्थ्य संस्थामा जान नसक्ने बिरामीको परीक्षणका लागि भने स्वास्थ्यकर्मीलाई घरैमा पठाउने गरिएको गाउँपालिकाले जनाएको छ । ‘संक्रमण पुष्टि भएपछि हामी संक्रमितको भेटघाटमा घर घरमै पुग्ने कोसिस गरिरहेका छौँ,’ अध्यक्ष राईले भने, ‘भेटघाटका क्रममा संक्रमितको स्वास्थ्य अवस्था बुझ्ने, आवश्यक सरसल्लाह दिने गरेका छौँ ।’

    एन्टीजेन परीक्षणमा टोल–टोलमा मेयर र उपमेयर

    हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधि पनि एन्टीजेन परिक्षणका लागि संक्रमित क्षेत्रमा स्वास्थ्यकर्मी सहित पुगिरहेका छन् । मेयर इवन राई, उपमेयर बिमला राई ज्वरो आउने, टाउको दुख्ने जस्ता स्वास्थ्य समस्या भएका बिरामी भएको गाउँमा स्वास्थ्यकर्मी सहित एन्टीजेन परिक्षणमा कुदिरहेका छन् ।

    elected with infected by covid photo_khotang.jpg

    संक्रमित क्षेत्रमा स्वास्थ्यकर्मी सहित एन्टीजेन परिक्षणका लागि पुगेका हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर विमला राईलगायत

    मेयर राई एन्टीजेन परिक्षणका लागि नगरपालिकाको अर्खौले, नवलपुर लगायतका ठाउँमा पुगिसकेका छन् । उपमेयर राई पनि बिरामीको एन्टीजेन परिक्षणका क्रममा ओफ्लाङ, च्यास्मीटार, बडहरे, सल्ले, धितुङ लगायतका वडामा पुगिसकेका छन् ।

    संक्रमणको आशंकामा खबर आए लगत्तै मेयर वा उपमेयर स्वास्थ्यकर्मी लिएर प्रभावित क्षेत्रमा कुद्ने गरेको स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले बताए ।

    बिरामीको उद्धारमा गाउँपालिका अध्यक्ष

    दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई बिरामीको उद्धारमा खटिएका छन् । आफै गाडी चलाउने अध्यक्ष राईले पिपिइ पहिरिएर बिरामीलाई दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित अस्थायी कोभिड अस्पतालसम्म पुर्‍याउने र एन्टीजेन परिक्षण गराउने गरेका छन् ।

    पिपिइ लगाएका अध्यक्ष राईले बिरामीलाई घरमा लिन जाने, डोर्‍याएर वा पिठ्यूमा बोकेर बिरामीलाई गाडीसम्म पुर्‍याएर अस्थायी कोभिड अस्पतालमा लैजाने गरेका छन् ।

    कोभिड–१९ को महामारी फैलिएपछि बिरामीको उद्धार गर्ने, अस्थायी कोभिड अस्पतालमा लगेर एन्टीजेन परिक्षण गर्ने, संक्रमण पूष्टि भए स्वास्थ्य अवस्था हेरेर आइसोलेसनमा राख्ने वा होमआइसोलेसनमा राख्ने व्यवस्था मिलाउनमै दिन बित्ने गरेको गाउँपालिका अध्यक्ष राईले बताए ।

    गाउँपालिका अध्यक्ष राईले बुधबार मात्र याम्खा खामडाँडाकी ८८ वर्षीय वृद्धा संक्रमितलाई ढाडमा बोकेर गाडीमा हालेर अस्थायी कोभिड अस्पताल पुर्‍याएका थिए । दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ७ वटै वडामा सेड्यूल बनाएर एन्टीजेन परिक्षण गरिएको थियो ।

    निर्धारित समय तालिका अनुसार वडा–वडामा एन्टीजेन परीक्षणपछि हाल बिरामी भएको खबर आएका ठाउँमा एन्टीजेन परीक्षणका लागि स्वास्थ्यकर्मी सहित पुग्ने र गम्भीर अवस्थाका बिरामीलाई गाडीमा हालेर अस्थायी कोभिड अस्पताल पुर्‍याउने गरिएको छ ।

    गाउँपालिकाको गाडी र एम्बूलेन्स चलाउनका लागि दुई जना चालक नियुक्त गरिएको छ । एम्बूलेन्सका चालकलाई कोभिड संक्रमण भएर बसिरहेका छन् । गाउँपालिकाको गाडी चालक पनि पारिवारिक समस्याले विदामा बसेपछि आफैले गाडी चलाएर बिरामीको उद्धारमा खट्ने गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

    सम्बन्धित समाचार