शनिवार, जेठ २२ २०७८
नेपाल वाइड
खोटाङ । जेठ २३, खोटाङको खोटेहाङ गाउँपालिकाले कोभिड–१९ बिरुद्धको विपद प्रतिकार्यमा सहयोगको आग्रह गरेको छ । ‘आफु बाँच्ने र अरुलाई बचाउने’ अभियानका क्रममा गाउँपालिकाले कोभिड–१९ को महामारी पूर्णरुपमा नियन्त्रण नभएसम्मका लागि अपनाइने विपद प्रतिकार्य योजना तथा क्रियाकलापलाई सफल पार्नका लागि प्रतिवद्धता जनाउन र सहयोग गर्न आव्हान गरेको हो ।
गाउँपालिकाले महामारी नियन्त्रण नभएसम्मका लागि पालिकाभित्रका हाटबजार, होटल, रेष्टुराँ, गेष्टहाउस, हिँडडुल तथा आवत जावत बन्द गर्ने, औषधि पसल बाहेकका सम्पूर्ण पसलहरु बन्द गर्ने, अत्यावश्यक कार्यका लागि बाहेक सबै प्रकारका सवारी साधन सञ्चालन बन्द गर्ने लगायतका विपद प्रतिकार्य योजना कार्यान्वयनमा सहयोगको आव्हान गरेको जनाएको छ ।
गाउँपालिका अध्यक्ष प्रदीप राईले जारी गरेको सूचनामा निर्माण सामग्री/खाद्यान्न/पेट्रोलियम पदार्थ ढुवानी लगायतका अत्यावश्यक सवारी साधन सञ्चालन गर्दा उच्च सतर्कताका साथ स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउने, सामाजिक तथा साँस्कृतिक चाड, पर्व, भोजभतेर, पूजाआजा, विवाह, ब्रतबन्ध, पास्नी लगायतका भिडभाड हुने सबै प्रकारका क्रियाकलाप बन्द गर्ने कार्यमा प्रतिवद्धता र सहयोगका लागि अपिल गरिएको छ ।
खोटेहाङ गाउँपालिकाले आगामी जेठ ३१ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिसकेको छ । सो गाउँपालिकाले विपद प्रतिकार्यका विषयमा आग्रह/पुर्वाग्रह राखी समाजलाई दिग्भ्रमित पार्ने, अनावश्यक भ्रम तथा आफवाह फैलाउने प्रकारका अभिव्यक्तिहरुका पछाडि कोही पनि नलाग्न अनुरोध गरेको छ ।
कोभिड–१९ विरुद्धको अभियानमा डाक्टर, नर्स तथा अक्सिजन सहितको ५ शैयाको अस्थायी कोभिड अस्पताल, तीन स्थानमा ५० बेडको क्वारेन्टिन, संक्रमित बोक्नका लागि एम्बूलेन्स तयारी अवस्थामा राखेको सूचनामा उल्लेख छ ।
यस्तै, एन्टीजेन तथा पिसिआर परीक्षणको दायरा फराकिलो बनाउने, गाउँपालिकामा सञ्चालनमा रहेका अन्य सवारी साधनलाई पनि अत्यवश्यक अवस्थामा बिरामी ओसार–पसारमा प्रयोग गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले विपद प्रतिकार्यमा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, पत्रकार तथा स्वयंसेवकलाई धन्यवाद ज्ञापन गरेको छ । यस्तै, ऐसेलुखर्क गाउँपालिकाले पनि जेठ ३१ गतेसम्मका लागि अत्यवश्यक बाहेकका सेवा स्थगित गरेको छ ।