शुक्रवार, जेठ २८ २०७८
नेपाल वाइड
खोटाङ । जेठ २८, खोटाङको साकेला गाउँपालिकाले घर बहाल कर बुझाउन ताकेता गरेको छ । घर वा घरको कोठा भाडामा लगाएका कतिपय घर धनीले घर बहाल कर बुझाउन अटेर गरेपछि गाउँपालिकाले जेठ २५ गते सूचना जारी गर्दै तत्काल घर वहाल कर बुझाउन ताकेता गरेको हो ।
घर वहाल कर बुझाउनका लागि घर धनीलाई पटक–पटक पत्राचार गर्दा पनि कतिपयको घर वहाल कर जम्मा नभएको भन्दै गाउँपालिकाले घर वहालमा बस्ने संस्था तथा व्याक्तिलाई नै १० प्रतिशत घर वहाल कर कट्टी गरेर मात्र घर भाडा भुक्तानी गर्न भनेको छ ।
घर वहाल वापतको रकम गाउँपालिकाको आन्तरिक राजस्व खातामा जम्मा गर्न सूचना जारी गरिएको गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताए । साकेला गाउँपालिकामा धेरैजसो घर धनीले घर वहाल कर बुझाएका छन् ।
केही घर धनीले मात्र वहाल कर बुझाएका छैनन् । ‘व्याक्ति, कार्यालय वा संघसंस्थालाई घर भाडामा दिने घर धनीले घर भाडाको १० प्रतिशत घर वहाल बुझाउनु पर्नेहुन्छ,’ गाउँपालिका अध्यक्ष खड्काले भने, ‘कतिपय घर धनीलाई घर बहाल कर बुझाउनु पर्छ भन्ने थाहै छैन । यो घर वहाल कर बुझ्ने र बुझाउने सिस्टम बसाउने प्रयास हो ।’
नेपालको संविधान २०७२ को अनुसूचि ८ अनुसार स्थानीय तहले घर वहाल कर संकलन गर्ने आन्तरिक श्रोत बढाउन सक्ने व्यवस्था छ । तर, जिल्लाका १० स्थानीय तहले प्रभावकारी ढंगले घर वहाल कर संकलन गर्न सकेको छैन ।