Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    यस कारण निषेधाज्ञा भएन खोटाङमा

    यस कारण निषेधाज्ञा भएन खोटाङमा


    • आइतवार, जेठ ३० २०७८

    • नेपाल वाइड


    यस कारण निषेधाज्ञा भएन खोटाङमा
    खोटाङ

    खोटाङ । जेठ ३०, कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका क्रममा मुलुकका ७७ जिल्लामध्ये ७५ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । कोभिड–१९ को नाममा निषेधाज्ञा जारी गर्न बाँकी जिल्ला हो खोटाङ र मनाङ ।

    छिमेकी जिल्लामा निषेधाज्ञा जारी गरेर पटक–पटक निषेधाज्ञा लम्विदै गइरहेको अवस्थामा खोटाङमा निषेधाज्ञा जारी गरिएको छैन । कोभिड–१९ को संक्रमण समुदाय स्तरमै पुगेको पूष्टि भइरहँदा जिल्लावासीले निषेधाज्ञाको आवश्यकता औंल्याएका पनि थिए । कतिपयले सामाजिक सञ्जालबाटै निषेधाज्ञा जारी गर्न ढिलाइ गरिएको भन्दै आवाज उठाए ।

    निषेधाज्ञाको माग त्यतिबेला बढी उठ्थ्यो, जतिबेला संक्रमितको मृत्यु हुन्थ्यो । तर, जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू गरेन । निषेधाज्ञाको सट्टा जिल्ला प्रशासन कार्यालयले स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, उद्योग बाणिज्य संघ, यातायात व्यवसायी संघ, निर्माण व्यवसायी संघ लगायतसँगको सहकार्यमा स्वअनुशासनको पालना गर्ने/गराउनमा अग्रसरता देखायो । परिणाम स्वरुप स्वअनुशासन नै निषेधाज्ञाभन्दा प्रभावकारी बनेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए ।

    १० स्थानीय तह रहेको जिल्लामा निषेधाज्ञा लागू गरिएको छैन । तर, निषेधाज्ञामाजस्तै सबै खालका सवारी साधनको आवत–जावातमा रोक लगाइएको छ । बजार तथा चोकमा हिँडडुल गर्न र भिडभाड गर्न बन्देज लगाइएको छ ।

    मास्क नलगाई कसैलाई पनि बाहिर निस्कन दिइएको छैन । स्वअनुशासनको पालनाका लागि दिक्तेलबजारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ । ‘आफु बाँच्ने र अरुलाई बचाउने’ अभियानका क्रममा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना सम्वन्धी सचेतनामुलक कार्यक्रमलाई गाउँ–गाउँमा पु¥याउने प्रयत्न गरिएको छ ।

    सरकारी तथ गैर–सरकारी कार्यालयको अत्यावश्यक बाहेकका सेवा स्थगित छ । विवाह, पास्नी, देवाली, साकेला जस्ता भिडभाडमा हुने धार्मिक तथा साँस्कृतिक कार्यक्रमलाई सकेसम्म न्यून संख्यामा विधिमा मात्र सिमित गर्न भनिएको छ । कोभिड–१९ को महामारीभरी सभा, सम्मेलन, गोष्ठी जस्ता कार्यक्रम गर्न रोक लगाइएको छ ।

    नेपाल सरकार, प्रशासन र स्थानीय सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्डलाई सबैले अनुशासित भएर पालना गरेकाले निषेधाज्ञा भन्दा स्वअनुशासन कडा भएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । ‘निषेधाज्ञा भनेको विना काम हिँडडुल गर्न नदिने, सवारी साधनको आवत–जावत बन्द गर्ने वा लिंकलाई विच्छेद गर्ने हो ।

    यो भनेको यतिबेला पसल खुला गर्ने, यति बजे बन्द गर्ने, सवारी साधन चल्न नदिने, मास्क बिना कसैलाई सडकमा आउन नदिने त हो,’ प्रजिअ शर्माले भने, ‘निषेधाज्ञा लगाएको जिल्लामाभन्दा हाम्रो जिल्लामा कडाइ छ । निषेधाज्ञा लगाएको जिल्लामा हाम्रोमा भन्दा प्रभावकारी अनुशासन कायम छ । त्यही भएर निषेधाज्ञा लगाइरहनु परेन । शव्दमा निषेधाज्ञा छैन तर व्यवहारमा निषेधाज्ञाभन्दा कडाइ गरिएको छ ।’

    निषेधाज्ञा बिनै खोटाङमा कुनै पनि गाडी चलेका छैनन् । विना अनुमति बाहिर निस्कन्नन् । उपभोग्य पसलहरु बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खुल्छ । जिल्लामा सञ्चालित बैंकलाई पनि आलोपालो मिलाएर दुई घण्टा मात्र खोल्ने व्यवस्था मिलाइएको छ ।

    मास्क नलगाइ कोही पनि बाहिर निस्कन्नन् । जिल्लामा व्यवहारमा निषेधाज्ञाभन्दा स्वअनुशासन बढि प्रभावकारी देखिएको प्रजिअ शर्माले बताए । ‘आज मात्र दिक्तेल बजार डुल्यौं । बजार सुनसान छ । निषेधाज्ञामा भन्दा बढी चर्को अनुशासन स्वअनुशान लागू भएको छ,’ शर्माले भने, ‘यस बारेमा अरु जिल्लाले पनि सोधिरहेको छ । यो सबै पक्षको सहयोगले सम्भव भएको हो ।’

    सम्बन्धित समाचार