Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    संस्कृति

    ‘खुवालुङलाई फुटाइदैन, पर्यटकीय केन्द्र बन्छ’

    ‘खुवालुङलाई फुटाइदैन, पर्यटकीय केन्द्र बन्छ’


    • मंगलवार, आषाढ १ २०७८

    • नेपाल वाइड


    ‘खुवालुङलाई फुटाइदैन, पर्यटकीय केन्द्र बन्छ’
    किरात समुदायको ऐतिहासिक र साँस्कृतिक स्थल खुवालुङ

    खोटाङ । असार १, प्रदेश नम्बर १ सरकारले सप्तकोसी नदीमा रहेको खुवालुङ नामको ढुंगालाई ऐतिहासिक, धार्मिक एवं साँस्कृतिक पर्यटकीय केन्द्रको रुपमा संरक्षण र विकास गर्ने भएको छ ।

    सरकारले किरात समुदायको ऐतिहासिक र साँस्कृतिक स्थल खुवालुङलाई फुटाउने योजना अघि सारेको भन्दै विरोध भइरहेका बेला प्रदेश सरकारले सो स्थललाई संरक्षण गर्दै ऐतिहासिक, धार्मिक एवम् साँस्कृतिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने योजना अघि सारेको हो ।

    प्रदेश नम्बर १ सरकारको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रमको १३५ बुँदामा ‘किराती संस्कृति, सभ्यता र मुन्धुमसँग जोडिएको सप्तकोशी नदीमा अवस्थित खुवालुङ्ग ढुंगाको संरक्षण गर्दै जलयातायात सँगै त्यस क्षेत्रलाई ऐतिहासिक, धार्मिक एवम् साँस्कृतिक पर्यटकीय केन्द्रको रुपमा संरक्षण र विकास गरिनेछ’ उल्लेख गरिएको छ ।

    सप्तकोशीमा अवरोध हटाएर जल यातायात सञ्चालन गर्ने संघीय सरकारको नीति तथा कार्यक्रम विपरित प्रदेश सरकारले भने खुवालुङलाई संरक्षण गर्दै जलयातायात सञ्चालन गर्ने नीति तथा कार्यक्रम ल्याएको हो ।

    खुवालुङ सुनकोसी, अरुण र तमोरको त्रिवेणी एवं उदयपुर, धनकुटा र भोजपुरको सिमानामा रहेको छ । किराँत भाषामा ‘खुवा’ भनेको पानी र ‘लुङ’ भनेको ढुंगा भन्ने हुन्छ । नदीको बिचमा रहेको ढुंगालाई किरात (राई, लिम्बू, याक्खा, सुनुवार) समुदायले आस्थाको केन्द्र मान्दैआएका छन् ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमा सप्तकोशीमा अवरोध हटाएर जल यातायात सञ्चालन गर्ने घोषणा गरेका थिए । प्रदेश सरकारले साथै अरुण तमोर सभ्यताको अध्ययन तथा संरक्षण गर्दै ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने नीति तथा कार्यक्रम ल्याएको छ ।

    खुवालुङलाई हटाउने प्रपञ्च भइरहेको भन्दै असन्तुष्टी पैदा भइरहेको अवस्थामा प्रदेश सरकारको सो नीति तथा कार्यक्रमले किरात समुदायको आक्रोश केही मत्थर पारेको छ ।

    गत फागुन ८ गते बिराटनगरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जेटबोट चलाउनका लागि सप्तकोसीको बिचमा रहेको ढुंगालाई क्रेन लगाएर फुटाउने बताएपछि किरात समुदायबाट विरोध सुरु भएको थियो ।

    प्रधानमन्त्रीको सो भनाइपछि ‘खुवालुङ’ फुटाउन नहुने भन्दै किरात समुदाय, अभियन्ता तथा संस्कृतिकर्मीले ‘खुवालुङ बचाउ आन्दोलन’ नै शुरू गरेका थिए । खुवालुङ बचाउनका लागि कतिपय खुवालुङ स्थल नै पुगेका थिए ।

    सम्बन्धित समाचार