बिहिवार, आषाढ ३ २०७८
नेपाल वाइड
खोटाङ । असार ३, कर्मचारीलाई कोभिड–१९ संक्रमण पूष्टि भएपछि खोटाङको ऐसेलुखर्क गाउँपालिकाबाट प्रवाह हुने सार्वजनिक सेवा बन्द गरिएको छ । बुधबार गरिएको एन्टीजेन परीक्षणका क्रममा दुई कर्मचारीलाई कोभिड–१९ पोजिटिभ भएको पूष्टी भएपछि जेठ ३ गतेदेखि जेठ ७ गतेसम्मका लागि गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द गरिएको हो ।
कोभिड–१९ को महामारी सुरु भएपछि गाउँपालिकाले अत्यावश्यक सार्वजनिक सेवा प्रवाह गर्दै आएकोमा कर्मचारी संक्रमित भएपछि सम्पूर्ण सेवा बन्द गरिएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले जारी गरेको सूचनामा उल्लेख छ ।
कोभिड–१९ को महामारी सुरु भएपछि ‘आफु बचौं र अरुलाई बचाऔं’ भन्ने नारालाई मध्यनजर गर्दै ऐसेलुखर्क गाउँपालिकाले अत्यावश्यक बाहेकका सेवा पटक–पटक बन्द गर्दैआएको छ ।
अर्को व्यवस्था नभएसम्मका लागि गाउँपालिकाभित्रका सरकारी, गैर–सरकारी कार्यालय, विद्यालय, व्यापार/व्यवसाय, होटल, बैंक तथा वित्तीय संस्था लगायत जमघट र भेला हुने सम्पूर्ण कार्यहरु स्थगित गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै, ऐसेलुखर्क गाउँपालिकाबाट चल्ने सम्पूर्ण यातायातका सवारी साधन आवागमनमा रोक लगाइएको छ ।