शुक्रवार, आषाढ ४ २०७८
नेपाल वाइड
खोटाङ । असार ४, खोटाङको साकेला गाउँपालिकालाई थप हप्ता दिनका लागि सिल गरिएको छ । कोभिड–१९ को महामारी हालसम्म कायम रहेको भन्दै गाउँपालिकाको सिल अवधि ७ दिनका लागि थप गरेको हो । दोश्रोपल्ट थप गरिएको सिल अवधि जेठ ३१ गते सकिएपछि बिहिबारदेखि लागू हुनेगरी तेश्रोपल्ट गाउँपालिका सिल अवधि लम्व्याइएको हो ।
कोभिड–१९ को महामारीबाट बच्ने र बचाउने अभियानका क्रममा गाउँपालिकाले आवत–जावत गर्न नपाउनेगरी गाउँपालिकालाई सिल कायम राखिएको गाउँपालिका अध्यक्ष अर्जुन खड्काले जारी गरेको सूचनामा उल्लेख छ ।
गाउँपालिकाले सिल अवधिमा पालिकाभित्र कुनै भिडभाड, भोजभतेर, समिक्षा, गोष्ठी, तालिम आदि नगर्न÷नगराउन अनुरोध गरेको छ । पालिका तथा वडाको आर्थिक एवं आन्तरिक प्रकासनिक कामकाज र अत्यावश्यक सेवा उच्च स्वास्थ्य मापदण्ड अपनाएर वैकल्पिक विधिमार्फत हुने सुचनामा उल्लेख छ ।
यसअघि गाउँपालिकाको आन्तरिक प्रशासनिक कामकाज र अत्यावश्यक सेवा बाहेकका अन्य सेवा प्रवाह बन्द गरिएको थियो । हप्ता दिनको /अवधिमा उपभोग्य वस्तु किनमेलका लागि खाद्यान्न पसल भने प्रत्येक बिहान ७ बजेदेखि ८ बजेसम्म खोल्ने/खुलाउने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।
कोभिड संकट व्यवस्थापन समितिको गत बैसाख २५ गतेको बैठकले हप्ता दिनका लागि पहिलोपल्ट गाउँपालिका सिल गर्ने निर्णय गरेको थियो । त्यो बेला गाउँपालिकाले संक्रमित क्षेत्रबाट आउने पालिकावासीले सम्वन्धित वडा कार्यालयमा पिसिआर रिपोर्ट पेश गर्नुपर्ने र कम्तीमा १० दिनसम्म होमआइसोलेसनमा बस्नुपर्ने, गाउँपालिकाभित्र निर्माणाधिन योजना र आयोजनाका लागि आवश्यक कामदार पालिकाभन्दा बाहिरबाट नल्याउने, बाहिरबाट ल्याउन परे पिसिआर परिक्षण गरेर मात्र कामदार भित्र्याउन पाउने व्यवस्था गरेको थियो ।
यस्तै, बढिमा १० जनाको उपस्थितिमा मात्र बिवाह, ब्रतबन्ध, पास्नी, देवाली जस्ता धार्मिक तथा साँस्कृतिक कार्यक्रम गर्ने÷गराउने, त्यस्ता कार्यक्रममा गाउँपालिकाभन्दा बाहिरका आफन्तलाई नबोलाउने, बोलाउनै परे पिसिआर परीक्षण गरेको नेगेटिभ रिपोर्ट लिएर मात्र आउनका लागि निमन्त्रणा गर्ने÷गराउने निर्णय गरेको थियो ।