शुक्रवार, आषाढ ४ २०७८
नेपाल वाइड
खोटाङ । असार ४, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा स्थापना गरिएको आइसोलेसन सेन्टरलाई अस्थायी कोभिड अस्पतालमा स्तरोन्नती गरिएको छ ।
कोभिड–१९ बाट संक्रमण भएका बिरामीलाई उपचारमा राख्नेगरी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र्रको भवनमा स्थापना गरिएको आइसोलेसन सेन्टरलाई आवश्यक स्वास्थ्यकर्मी, उपकरण एबं औषधि व्यवस्था गरेर अस्थायी कोभिड अस्पतालमा परिणत गरिएको हो ।
दिक्तेल रुपाकोट मझुवानगरपालिका र जिल्ला अस्पतालको संयुक्त पहलमा आइसोलेसन सेन्टरलाई अस्थायी कोभिड अस्पतालमा स्तरोन्नती गरिएको हो । चौबिसै घण्टा एक जना डाक्टर र दुई जना नर्स ड्यूटीमा रहनेगरी उपकरण र औषधि व्यवस्था गरेर अस्थायी कोभिड अस्पताल तयार पारिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. बैभव मल्लिकले बताए ।

बिहिबार तयार पारिएको अस्थायी कोभिड अस्पतालमा संक्रमित बिरामी भने भर्ना भएका छैनन् । हालसम्म कोभिड–१९ बाट संक्रमितको परीक्षण एवं जिल्ला अस्पतालबाट गर्ने गरिएकामा आगामी दिनमा कोभिड सम्वन्धीका उपचार अस्थायी कोभिड अस्पतालबाट हुने नगर प्रमुख दिपनारायण रिजालले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख ववी चाम्लीङ, नगर प्रमुख रिजाल, उपप्रमुख विणादेवी राई, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा लगायतले अस्थायी कोभिड अस्पताल निरिक्षण एबं अनुगमन गरेका छन् ।
कोभिड–१९ का संक्रमितलाई लक्ष्यित गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गत बैसाख १५ गते जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र्र दिक्तेलको भवनमा ३२ बेडको आइसोलेसन सेन्टर स्थापना गरेको थियो ।