शुक्रवार, आषाढ ४ २०७८
नेपाल वाइड
खोटाङ । असार ४,, खोटाङका स्थानीय तहमा चालु आर्थिक वर्षको ‘क्लोजिङ’ सुरु भएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा ७ दिन अगावै भुक्तानी दिएर निकासा र खर्च अध्यवधिक गरी भुक्तानी र निकासा बन्द गर्नुपर्ने व्यवस्था अनुसार ‘क्लोजिङ’को सिजन सुरु भएको हो ।
आर्थिक वर्ष ‘क्लोजिङ’को समय सुरु भएसँगै असारे चटारो लागेको छ । विभिन्न उपभोक्ता समितिलाई अहिले आफ्नो योजना तथा कार्यक्रम सम्पन्न गर्ने हतारो भइरहेको छ ।
आर्थिक वर्ष ‘क्लोजिङ’का लागि खोटेहाङ गाउँपालिकाले विभिन्न योजना तथा कार्यक्रहरुको फरफारक तथा अन्तिम भुक्तानीको लागि आगामी असार २० गतेभित्र आवश्यक कागजात पेश गर्न सूचना जारी गरेको छ ।
खर्च हुन नसकेको रकम असार २३ गतेभित्र फिर्ता भौचर सहित कोष तथा लेखा नियन्त्रक कार्यालयमा पेश गर्नुपर्ने, भुक्तानी गरिएको कर कट्टी रकम कर कार्यालयमा दाखिला गर्नु पर्ने तथा आर्थिक वर्ष २०७७/०७८ को आयव्याय हिसाव मिलान गरी नेपाल सरकार, प्राकृतिक श्रोत तथा वित्त आयोग र प्रदेश सरकार समक्ष प्रतिबेदन पेश गर्नुपर्ने भन्दै गाउँपालिकाले फरफारक तथा अन्तिम भुक्तानीको लागि आगामी असार २० गतेभित्र आवश्यक कागजात पेश गर्न भनेको हो ।
तोकिएको समय सीमा भन्दा पछाडि पेश हुन आएका भुक्तानीका फायल उपर कुनै कारबाही नगरिने र भुक्तानी नभए कार्यालय जवाफ देही नहुने प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ ।
यस्तै, साकेला गाउँपालिकाले पनि योजना तथा कार्यक्रहरुको फरफारक तथा अन्तिम भुक्तानीको लागि असार २० गतेभित्र आवश्यक कागजात पेश गर्न भनेको छ । निर्धारित समयमा पेश नभएका कागजात उपर कुनै कारबाही नहुने गाउँपालिका अध्यक्ष अर्जुन खड्काले असार २ गते जारी गरेको सूचनामा उल्लेख छ ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दहाल र लेख अधिकृत राजकुमार राईले शुक्रबार जारी गरेको सूचनामा भने योजना तथा कार्यक्रहरुको फरफारक तथा अन्तिम भुक्तानीको लागि आगामी असार २४ गतेभित्र आवश्यक कागजात पेश गर्न आग्रह गरिएको छ ।