शनिवार, आषाढ १२ २०७८
नेपाल वाइड
खोटाङ । असार १२, विश्वव्यापी अनलाइन कोङकोङमा (विनायो) वादन खुल्ला प्रतियोगिताको दोश्रो राउण्डका लागि ५५ जना छनौट भएका छन् । आफ्नो १६ औं स्थापना दिवसको अवसर पारेर किरात राई साँस्कृतिक कलाकार संघले आयोजना गरेको खुल्ला विश्वब्यापी अनलाइन विनायो वादन खुल्ला प्रतियोगिताको पहिलो राउण्डमा सहभागी १०९ जना प्रतियोगीमध्येबाट दोश्रो राउण्डका लागि ५५ जना छनौट भएका हुन् ।
पहिलो राउण्डमा नेपाल र यूकेका राई, लिम्बू र क्षत्री समुदायबाट ९१ जना महिला र १८ जना पूरुषले सहभागीता जनाएको किरात राई साँस्कृतिक कलाकार संघका सचिव पदम थुलुङले बताए । बरिष्ठ गायक तथा संगीतकार जितेन राई, गायीका पार्वती राई र गायक संगीतकार राजुएन राई निर्णायक रहेको निर्णायक समितिले ४८ महिला र ७ पुरुषलाई दोश्रो राउण्डका लागि छनौट गरेको हो ।
लोपोन्मुख बनेको विनायो बाजाको संरक्षण, सम्बद्र्धन गर्दै युवा पिँढीमा हस्तान्तरण गर्ने उद्देश्यले संघले आफ्नो स्थापना दिवसको अवसरमा गत जेठ २२ गते खुल्ला विश्वब्यापी अनलाइन विनायो वादन खुल्ला प्रतियोगिता गर्ने घोषणा गरेको थियो ।
विनायो वादन प्रतियोगीतामा सहभागीताका लागि पहिलो चरणमा बिनायो बजाइरहेको भिडियो असार १० गतेभित्र आयोजकलाई पठाउन सूचना जारी गरेपछि स्वदेश तथा विदेशमा रहेका विनायोका पारखीले अनलाईनमार्फत सहभागीता जनाएका हुन् ।
कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै अनलाइनमार्फत विश्वब्यापी अनलाइन विनायो वादन खुल्ला प्रतियोगिता आयोजना गरिएको संघले जनाएको छ । ‘दुई चरणमा सक्ने भनेको तर सहभागी धेरै भएकाले तीन चरणमा फाइनल गर्ने तयारी गरेका छौँ,’ सचिव थुलुङले भने, ‘अधिक भिडियो आए । बिहिबार बेलुकासम्मको भिडियो लिइएको छ ।’
पहिलो चरणमा छनौट भएका प्रतियोगीले पुःन दोश्रो चरणमा पनि विनायो बजाइरहेको ओरिजिनल भिडियो आयोजकलाई उपलव्ध गराउनु पर्ने छ । दोश्रो र तेश्रो चरणमा उपलव्ध भएको भिडियोको आधारमा फाइनल प्रतिष्पर्धा हुने सचिव थुलुङले जानकारी दिए ।
विनायो बजाएको भिडियो कम्तिमा २ मिनेटको हुनुपर्ने र हरेक भिडियो अडियो सहितको हुने पर्ने शर्त छ । प्रतियोगिता आगामी असारको अन्तिम साता समापन हुने आयोजकले जनाएको छ । छनौट भएका भिडियो संघको युट्युव च्यानल kiratraikalakar मा अपलोड गरिने संघले जनाएको छ ।
विनायो वादन प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने विजेताले क्रमशः १६ हजार, १० हजार र ७ हजार नगद पुरस्कार सहित प्रमाण–पत्र प्राप्त गर्ने कार्यक्रम संयोजक रोशन चाम्लिङ राईले बताए ।