शनिवार, आषाढ १२ २०७८
नेपाल वाइड
खोटाङ । असार १२, खोटेहाङ गाउँपालिकाले सडक, विद्युत, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, संस्कृति प्रवद्र्धन, लक्षित कार्यक्रम, युवा तथा खेलकुद, विपद व्यवस्थापन तथा सुशासन तथा संस्थागत विकास लगायतका क्षेत्रमा बजेट विनियोजन गरेको छ ।
आर्थिक विकास र गरिवी निवारणमा सहयोग पुग्ने, उत्पादनमुलक तथा छिटो प्रतिफल दिने, जनताको जीवनस्तर सुधार गर्ने, आम्दानी र रोजगार बढ्ने, स्थानीय श्रोत साधन र सीपको अधिकतम प्रयोग हुने, महिला, वालबालिका तथा पिछडिएको वर्ग, क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने, दिगो विकास र वातावरण संरक्षण संवद्र्धनमा सघाउ पुग्ने विषयलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।
वार्षिक आय व्यायको संक्षिप्त अनुमानित विवरण सार्वजनिक गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले सडक विस्तार, मर्मत, सम्भार तथा स्तरोन्नतीका लागि २ करोड ४७ लाख, विद्युतीकरणका लागि ४० लाख, कृषि तथा पशु सेवातर्फ ७८ लाख ९२ हजार, पर्यटन विकासका लागि ८१ लाख ५० हजार विनियोजन गरेको जानकारी दिएका छन् ।
यस्तै, अध्यक्ष/उपाध्यक्ष योजनालाई विकास निर्माणमा जोड्नेगरी अध्यक्ष/उपाध्यक्ष रोजगार विकास योजनामा ८० लाख, स्वास्थ्य, शिक्षा, युवा तथा खेलकुद, महिला, दलित, जनजाती, फरक क्षमता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका लगायतका क्षेत्रमा २ करोड ९३ लाख ३० हजार, स्थानीय पाठ्यक्रम निर्माण तथा छपाइका लागि २५ लाख, विपद व्यवस्थापन कोषमा १५ लाख, एम्बूलेन्स खरिदका लागि १२ लाख, भाषा, कला, साहित्य, संस्कृतिा संरक्षण, सम्वद्र्धन तथा विकासका लागि ५ लाख विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।
खोटेहाङले उच्च शिक्षा छात्रबृत्तिका लागि ५ लाख विनियोजन गरेको छ । उच्च शिक्षा हासिल गर्ने छात्र/छात्राको प्रोत्साहनका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ देखि सुरु गरेको उच्च शिक्षा छात्रबृत्तिका कार्यक्रमलाई निरन्तरता दिएको हो ।
एमफिल र पिएचडि गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई प्रोत्साहन स्वरुव छात्रवृत्ति प्रदान गर्ने नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाले चालु आर्थिक वर्ष खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका विधावारिधी शोधकर्ता बिष्णुबहादुर कार्कीलाई छात्रवृत्ति स्वरुप १ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरिएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।