आइतवार, आषाढ १३ २०७८
नेपाल वाइड
खोटाङ । असार १३, खोटाङको साकेला गाउँपालिकाले व्यक्तिगत घट्ना तथा सामाजिक सुरक्षाभत्ता दर्ताका लागि घुम्ती शिबिर सुरु गरेको छ । जन्म, मृत्यु, विवाह, वसाईसराई र सम्वन्ध विच्छेद जस्ता व्यक्तिगत घट्ना दर्ता तथा सामाजिक सुरक्षाभत्ताको नयाँ दर्ता, लगत कट्टा तथा गुनासो दर्ता सम्वन्धी सेवाका लागि गाउँपालिकाले वडा–वडामा घुम्ती शिबिर सुरु गरेको हो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार काठ्माण्डौंको गत जेठ २ गतेको निर्देशनात्मक पत्र तथा सामाजिक सुरक्षा शाखा सेवा इकाईको कार्यालय साकेला गाउँपालिका, मानेभञ्ज्याङको जेठ ३१ गतेको पत्र अनुसार व्यक्तिगत घट्ना तथा सामाजिक सुरक्षाभत्ता दर्ताका लागि वडा–वडामा घुम्ती शिबिर सुरु गरिएको गाउँपालिकाका एमआइएस अपरेटर डिल्लीमान राईले बताए । व्यक्तिगत घट्ना दर्ता तथा सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्ने उद्धेश्यले हरेक वडाका दुई–दुई स्थानमा १० दिने घुम्ती शिबिर आयोजना गरिएको हो ।
गाउँपालिकाको ५ वडामध्ये हालसम्म साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित जालपा आधारभुत विद्यालय सेखुवा र चण्डेश्वरी आधारभुत विद्यालय हरेलोडाँडा, साकेला गाउँपालिका–२ रतन्छाको सरस्वती आधारभुत विद्यालय मबु, साकेला गाउँपालिका–४ मात्तिमको मानेभञ्ज्याङ आधारभुत विद्यालय मानेगाउँ र नागरिक सचेतना केन्द्र पारुङमा शिबिर सम्पन्न भइसकेको छ ।
व्यक्तिगत घट्ना दर्ता तथा सामाजिक सुरक्षाभत्ता सुदृढिकरण आयोजना अन्तरगत आयोजित शिबिरबाट हालसम्म करिब दुई सय जना स्थानीयको घट्ना दर्ता तथा सामाजिक सुरक्षाभत्ताको नयाँ निवेदन र गुनासो सम्वन्धी फराम संकलन गरिएको एमआइएस अपरेटर राईले बताए ।
यस्तै, साकेला गाउँपालिका–५ मात्तिमविर्ता र साकेला गाउँपालिका–३ खिदिमामा पनि व्यक्तिगत घट्ना तथा सामाजिक सुरक्षाभत्ता दर्ताका लागि घुम्ती शिबिर सञ्चालनको तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।