सोमवार, आषाढ २१ २०७८
नेपाल वाइड
खोटाङ । असार २१, विश्वव्यापी अनलाइन कोङकोङमा (विनायो) वादन खुल्ला प्रतियोगिताको फाइनल प्रतिष्पर्धाका लागि २० प्रतियोगी छानिएका छन् । आफ्नो १६ औं स्थापना दिवसको अवसर पारेर किरात राई साँस्कृतिक कलाकार संघले आयोजना गरेको खुल्ला विश्वब्यापी अनलाइन विनायो वादन खुल्ला प्रतियोगिताको दोश्रो राउण्डमा पुगेका ५५ जनामध्येबाट अन्तिम राउण्डका प्रतिष्पर्धी छनौट गरिएको हो ।
सोमबार भएको दोश्रो राउण्डको प्रतिष्पर्धाबाट ४ पुरुष र १६ जना महिलाले फाइनल प्रतिष्पर्धाको यात्रा तय गरेको प्रतियोगीताका आयोजक किरात राई साँस्कृतिक कलाकार संघका सचिव पदम थुलुङले बताए ।
प्रतिष्पर्धीले पठाएको बिनायो बजाइरहेको अडियो सहितको कम्तीमा दुई मिनेट लामो भिडियोको आधारमा बरिष्ठ गायक तथा संगीतकार जितेन राई, गायीका पार्वती राई र गायक संगीतकार राजुएन राई निर्णायक रहेको निर्णायक समितिले दोश्रो राउण्डको नतिजा सार्वजनिक गरेका हुन् ।
फाइनल प्रतिष्पर्धाका लागि ओखलढुंगाका जीतुमायाँ राई, मगमायाँ राई, मगमायाँ राई, गजमायाँ राई, रुद्रमायाँ राई र मुक्षमायाँ राई, खोटाङका पम्फा खालिङ राई, जीतकुुमार राई र महेन्द्र केसी, सुनसरीका छत्रमायाँ राई र सुखसरी राईलाई छनौट गरेका छन् ।
यस्तै, झापाका मनकुमारी राई, बलहादुर राई र तारादेवी राई, पाँचथरका पूर्णीमा फियाक लिम्बु राई र तेजबहादुर राई, सोलुखुम्बुका गंगा खालिङ राई, ललितपुरका इन्द्रकला राई, बेलायतका लक्ष्मीदेबी राई र बालादेबी राईले फाइनल अडिसनको यात्रा तय गरेका छन् ।
आगामी असार २७ गतेसम्ममा पुःन विनायो बजाइरहेको अर्को नयाँ भिडियो पठाउन लगाएर सोही भिडियोको आधारमा यही महिनाभित्र अन्तिम विजेता घोषणा गरिने किरात राई साँस्कृतिक कलाकार संघले जनाएको छ । पहिलो राउण्डमा नेपाल र यूकेका राई, लिम्बू र क्षत्री समुदायबाट ९१ जना महिला र १८ जना पूरुषले सहभागीता जनाएको संघले जनाएको छ ।
विनायो वादन प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने विजेताले क्रमशः १६ हजार, १० हजार र ७ हजार नगद पुरस्कार सहित प्रमाण–पत्र प्राप्त गर्ने कार्यक्रम संयोजक रोशन चाम्लिङ राईले बताए ।
लोपोन्मुख बनेको विनायो बाजाको संरक्षण, सम्बद्र्धन गर्दै युवा पिँढीमा हस्तान्तरण गर्ने उद्देश्यले संघले आफ्नो स्थापना दिवसको अवसरमा गत जेठ २२ गते खुल्ला विश्वब्यापी अनलाइन विनायो वादन खुल्ला प्रतियोगिता गर्ने घोषणा गरेको थियो ।
विनायो वादन प्रतियोगीतामा सहभागीताका लागि पहिलो चरणमा बिनायो बजाइरहेको भिडियो असार १० गतेभित्र आयोजकलाई पठाउन सूचना जारी गरेपछि स्वदेश तथा विदेशमा रहेका विनायोका पारखीले अनलाईनमार्फत सहभागीता जनाएका हुन् ।
कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै अनलाइनमार्फत विश्वब्यापी अनलाइन विनायो वादन खुल्ला प्रतियोगिता आयोजना गरिएको संघका सचिव थुलुङले बताए । छनौट भएका भिडियो संघको युट्युव च्यानल kiratraikalakar मा अपलोडको व्यवस्था गरिएको संघले जनाएको छ ।