Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ऐसेलुखर्क : प्रयोगमा नआउँदै वडा कार्यालयको भवन चुहिन थाल्यो

    ऐसेलुखर्क : प्रयोगमा नआउँदै वडा कार्यालयको भवन चुहिन थाल्यो


    • मंगलवार, आषाढ २२ २०७८

    • नेपाल वाइड


    ऐसेलुखर्क : प्रयोगमा नआउँदै वडा कार्यालयको भवन चुहिन थाल्यो
    वडा कार्यालय बाकाचोलको नयाँ भवन ।

    खोटाङ । असार २२, खोटाङको ऐसेलुखर्क गाउँपालिकामा प्रयोगमा नआउँदै वडा कार्यालयको भवन चुहिन थालेको पाइएको छ । ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोल वडा कार्यालयको नयाँ भवन वर्षाको बेला पानी चुहिने गरेको पाइएको हो ।

    गत वर्ष गाउँपालिकाको २५ लाख खर्चमा बनाइएको ३९ फिट लम्बाई र २३ फिट चौंडाई भएको एक तले भवनमा पानी रसाएका कारण कार्यालय सार्न नसकिएको वडाध्यक्ष सन्तबीर तामाङले बताए ।

    दुई वटा ढोका भएको भवनको सिलिङमा पानीको थोपा निस्किएर चुहिने गरेको छ । पुरानो भवनबाट सञ्चालन हुँदै आएको वडा कार्यालयलाई गत जेठमा नयाँ भवनमा सार्न खोज्दा पानी चुहिने गरेको पाइएपछि नसारिएको वडाध्यक्ष तामाङले बताए ।

    नयाँ भवनमा पानी रसाउने गरेको पाइएपछि हाल पुरानै भवनबाट वडाको दैनिक कामकाज सञ्चालन भइरहेको छ । भवन ढलानका क्रममा गुणस्तरहिन काम हुँदा पानी रसाएको स्थानीयको दावी छ । भवनको सिलिङमा दुई स्थानबाट वर्षाको पानी रसाएर चुहिने गरेको देखिएको बताइएको छ ।

    भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष नीरकाजी तामाङले पनि भवनको सिलिङबाट दुई स्थानबाट पानी रसाएको स्वीकार गरेका छन् । ‘दुई स्थानबाट हल्का थोपा चुहिएको देखिन्छ ।

    अरु वाफका कारण सिलिङमा थोपा देखिएको हो,’ उपभोक्ता समितिका अध्यक्ष तामाङले भने, ‘हामीले भाइब्रेटर मेसिन बिनै ढलान गरेका थियौँ । चुहिने ठाउँमा टालिदिन्छु । थप चार÷पाँच हजार खर्च गरौंला ।’

    निर्माण उपभोक्ता समितिले २०७७ साल मंसिरमा भवन निर्माणको काम पूरा गरेको थियो । सो वडा कार्यालय भवनको डिजाईन तथा प्राविधिक मूल्यांकन गाउँपालिकाकै इन्जिनियर बावुराम राउतले गरेका हुन् ।

    ‘हामीले सम्झौता गर्न र प्राविधक स्टीमेट अनुसार भुक्तानीका लागि सिफारिस दिएका थियौं तर अनुमन समितिको सिफारिस नलिइकन भुक्तानी भएको छ,’ वडाध्यक्ष तामाङले भने, ‘कहीँ ढलान घर चुहिएको देख्नु भएकोछ ? वाफले पानी चुहिन्छ ? यही अवस्थामा नयाँ भवनमा कार्यालय सार्ने अवस्था छैन ।’

    भवनमा पानी रसाउने गरेको गुनासो आएपछि महिना दिनअघि गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौला लगायतको टोली अनुगमनका क्रममा बाकाचोल पुगेका थिए । अनुगमनमा क्रममा भवनको सिसिङबाट दुई स्थानबाट पानी रसाउने गरेको देखिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।

    ‘दुई स्थानबाट पानी रसाएको देखिन्छ । निर्माण समितिलाई टाल्न भनिसकेका छौँ,’ अध्यक्ष निरौलाले भने, ‘सानो कुरालाई ठूलो बनाउन आवश्यक छैन । घोल लगाएर टालेपछि भवनले काम दिन्छ ।’

    सम्बन्धित समाचार