बिहिवार, आषाढ २४ २०७८
नेपाल वाइड
खोटाङ । असार २४, खोटाङको केपिलासगढी गाउँपालिकाले विदेशमा टावरबाट लडेर घाईते भएर फर्किएका एक स्थानीयलाई राहत प्रदान गरेको छ । वैदेसिक रोजगारीका सिलसिलामा बहराईन पुगेकाबेला टावरको चौथो तलाबाट खसेर गम्भीर घाईते भएर घर फर्किएका केपिलासगढी गाउँपालिका–१ फेदीका ४५ वर्षीय मित्रकुमार राईलाई राहत रकम प्रदान गरेको हो ।
बहराईन बसेको १० वर्षमा सन् २०१८ मा एलुमिनियम फेव्रिकेटरको रुपमा काम गरिरहेका बेला टावरबाट खसेर गम्भीर घाईते भएका राईलाई गाउँपालिकाले २० हजार र वडा कार्यालय फेदीले १५ हजार आर्थिक सहयोग गरेको हो ।
काम गर्नेक्रममा बहराईनमा लडेपछि १८ दिनसम्म बेहोस बनेका मित्रकुमारलाई केपिलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले राहत रकम हस्तान्तरण गरेका हुन् ।
घरमा स–साना बालबच्चा हुर्काउने र अपाङ्ग बुवाको समेत हेरचाह गर्नुपर्ने जिम्मेवारीमा रहेका मित्रकुमारको खुट्टामा राखिएको स्टील हालसम्म नझिकिएकोले थप उपचारको लागि गाउँपालिका र वडा कार्यालयले राहत प्रदान गरेको केपिलासगढी गाउँपालिकाका प्रशासन शाखा प्रमुख युनिक साम्पाङले बताए ।
वैदेसिक रोजगारीका सिलसिलामा ५ वर्ष मलेसिया बसेका मित्रकुमार सन् २००८ मा बहराईन पुगेका थिए । टावरबाट लडेर गम्भीर घाईते भएपछि कम्पनी र व्यक्तिगत खर्चमा १३ महिनाको उपचारपछि उनी नेपाल फर्किएका थिए । घाईते भएर घरमा बसिरहेका उनलाई राहत तथा विमाको बारेमा जानकारी थिएन ।
विदेशबाट घाईते भएर आएर घरमा बसिरहेको बारेमा केपिलासगढी गाउँपालिका र बालसेवा समाज नेपाल खोटाङले संयुक्त रुपमा सञ्चालन गरिरहेको सुरक्षित आप्रवासन परियोजना (सामी)ले जानकारी पाएपछि उनलाई वैदेशिक रोजगार बोर्डमा राहतका लागि निवेदन दिन लगाइएको थियो ।
तर, समयावधि नाघेको र विमा लगायतको आवश्यक पूर्ण कागजात नहुँदा मित्रकुमारलाई बोर्डबाट राहत प्राप्न हुन नसकेपछि गाउँपालिका र वडा कार्यालय फेदीबाट राहत उपलव्ध गराइएको हो ।
विदेशबाट घाइते भएर आएका राईलाई गाउँपालिकाको अपांग परिचयपत्र वितरण सम्बन्धी स्थानीय समन्वय समितिको बैठकको निर्णय अनुसार अपांग परिचय–पत्र समेत दिइसकिएको छ ।
वैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र उपलव्धमूलक बनाउने लक्ष्यका साथ गाउँपालिकाले बालसेवा समाजसँगको सहकार्यमा सुरक्षित आप्रवासन परियोजना अन्तरगत निःशुल्क सूचना, सीप तालिमका साथै वित्तीय र मनोसामाजिक परामर्श सेवा उपलव्ध गराइरहेको परियोजनाका मनोसामाजिक परामर्शकर्ता सिर्जना निरौलाले बताईन् ।