Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जित्तिसिंह सोताङ राई : साल्पा फेदीका युगपुरुष

    जित्तिसिंह सोताङ राई : साल्पा फेदीका युगपुरुष


    • शनिवार, आषाढ २६ २०७८

    • मोहनसिंह सोताङ


    जित्तिसिंह सोताङ राई : साल्पा फेदीका युगपुरुष

    असार २६ । खम्बुवान राज्यमा पर्ने खिकामाछा (हालको भोजपुर जिल्ला) नेपालको पूर्व ४ नम्बर क्षेत्रमा पर्दथ्यो । खिकामाछाको पूर्व-उत्तरमा साल्पा फेदी अस्वस्थित छ । साल्पा फेदी नेवाहाङ राईको मौजाभित्र पर्दथ्यो ।

    मौजाको ठूलो भूभाग वनले ढाकिएको थियो । वनले ढाकिएको मौजाभित्र पशुचरणको लागि उपयुक्त ठाउँ मनग्गे थियो । नेपालको पूर्व ३ नम्बरबाट साल्पा भन्ज्याङ पार गरेर भेडा गोठ सार्दै जाँदा धेरैचोटि साल्पा फेदी आइपुगेका थिए जित्तिसिंह सोताङ राई । भेडा चरण लैजाँदा जित्तिसिंह सोताङले साल्पा फेदीवरिपरिको सबै क्षेत्र चहारेका थिए ।

    जित्तिसिंह सोताङलाई साल्पा फेदीवरपरको भूभागमा पशुपालन गरेर जीवन यापन गर्न उपयुक्त लाग्यो । पशुपालन गरेर जीवनयापन गर्न जित्तिसिंहले नेवाहाङ राजालाई ४ दाम चढाएर साल्पा फेदी क्षेत्रको भूभाग माग्यो । स्वीकृति पाएपछि उनले साल्पा फेदीको घनघोर वन फाँडेर आफ्नो परिवारसहित बस्न योग्य बनायो ।

    घनघोर वन छिचोल्दै गोठबाट घरतिर झर्ने क्रममा उसको भालुसित झम्काभेट भयो । जित्तिसिंह सोताङले भालुको दुवै खुट्टा रूखको दायाँबायाँ किनारबाट समातेर ठेकामा मोही पारेझैं बज्राँठ रूखमा रगटेर भालु मारिदियो । यो कथा साल्पा फेदीबासीहरूले ताजा घटनासरह हिजोआज पनि सुनाउने गर्दछन् ।

    साल्पा फेदीमा सबैभन्दा पहिले मानव बसोबास जित्तिसिंह सोताङको परिवारबाट सुरु भएको थियो । उनले सोत्तोरिङ र सोत्तोरिदुम् (सोताङ भाषा र संस्कृति) उत्थान गर्ने जग बसाएका थिए । साल्पा फेदीवरपरका गाउँहरूमा बोलिने भाषा सोत्तोरिङ (सोताङ भाषा) हो । भाषा र संस्कृति जगेर्ना गरेर सोताङ जातिको अस्तित्व जीवित राख्ने श्रेय जित्तिसिंह सोताङलाई नै जान्छ ।

    सोताङको संख्या बढदै जाँदा जित्तिसिंह कुबितीका सन्तानले साल्पा फेदीवरिपरिको डाँडाकाँडा ढाकिएको छ । उनका सन्तानहरू बोबित्ती, दिबुलु, रिसिबु, हायात्ती इत्यादि पाछा (थर)हरूमा बाँडिएका छन् । उनका सन्तानमध्ये केही भारतको दार्जिलिङ, सिक्किम र युरोपका विभिन्न स्थानमा छरिएका छन् ।

    पश्चिम सिक्किमको दरमदिन निवासी कृपाशाल्या सोताङ उनको काहिँला सन्तानको हाँगो हो । विभिन्न पुस्तामध्ये एउटा पुस्ताको नातिनीसँग वैवाहिक सम्बन्ध जोडिँदा फेराजित पिदिसै कुलुङ-बुङबाट साल्पा फेदीको सिल्बास्कोमा बसोबास गर्न आएको थियो । जित्तिसिंहले सिल्बास्कोमा बालिनाली खान आउने बस्तुभाउ हेर्ने केटाकेटी राखेका थिए ।

    बालिनाली खान आउने बस्तुभाउ हेर्न बसेका केटाकेटीहरू दैनिक चप्लेटी ढुङ्गोमाथि नाच्दै समय बिताउँथे । केटाकेटीले नाच्दै समय बिताएको ठाउँको नाम सिल्बास्को रहन गयो । सोताङ भाषामा नाच्ने ठाउँ भनेर नामकरण गर्दा सिल्बास्को भनियो । साल्पा फेदीको सिल्बास्कोमा बसोबास गरिरहेका पिदिसैहरू फेराजित पिदिसै कुलुङका सन्तानहरू हुन् ।

    नातिनीसँग वैवाहिक सम्बन्ध जोडिँदा खिलुर नामको मान्थेर्बु कुलुङ गुदेलबाट साल्पा फेदीमा आएको थियो । भेडा चराउँदै गोठ सार्ने केरममा जित्तिसिंह सोताङकै सन्तानभित्रकी चेलीसित मायाप्रेम भएपछि नाम्लुङ्मा जन्मिएका हर्काजस थोप पिल्मो साल्पा फेदीमा अल्झि्नु परेको थियो ।

    साल्पा फेदीको तल्लो बियुङ्मा गाउँलाई ढाकेर बसोबास गरिरहेको पिल्मो जातिका थोपहरू हर्काजसका सन्तान हुन् । चोचोलुङमा बसोबास गरिरहेको पिल्मो राई जातिका देउराम पूर्व क्षेत्र घुम्न आउँदा साल्पा फेदीका जित्तिसिंह सोताङसित भेट भयो । 'साल्पा फेदी राम्रो लाग्छ भने खाली जग्गा छँदैछ, आएर बस्दा हुन्छ' भनेर जित्तिसिंह सोताङले देउरामलाई खाली जमिन देखाए । त्यो जमीन देउरामको मनले खायो ।

    दाजुभाइहरूलाई साल्पा फेदीमा राम्रो जमीन छ भनेर सुनाउँदा चोचोलुङबाट सम्पूर्ण परिवार स्थायी बसोबासको लागि साल्पा फेदी आएका थिए । आफूले पुज्दै आएको तोस् थानको योङ्खोलु (तोस् थानमा पुजिने ढुङ्गो) उखेलेर तोस् नोक्छो देउराम वंश साल्पा फेदीमा बसाइँ सरेर आयो ।

    चोचोलुङबाट कुलुपोङ्खो भन्ज्याङ आइपुग्दा 'अब हामी चोचोलुङ फर्कदैनौ' भनेर कोसेढुङ्गो गाडिराखेका थिए । जित्तिसिंहले सुझाएअनुसार देउराम वंशले चोचोलुङबाट उठाएर ल्याएको योङ्खोलु सिल्बास्कोमा स्थापना गरे । अहिले त्यो योङ्खोलु पिल्मो राई जातिका देउराम वंशको ऐतिहासिक धरोहर एवं चोचोलुङको चिनो बनेको छ ।

    चोचोलुङको छेन्होले लेखापढी गरिदिने कोही नपाएपछि साल्पा फेदी आएर देउराम परिवारलाई अनुनयविनय गर्दा एक परिवार चोचोलुङ फर्केको थियो । संख्या बढ्दै गएपछि देउराम वंशका केही परिवार माथिल्लो बियुङ्मा गाउँमा बसोबास गर्न थाले । जनसंख्या बढेपछि त्यहाँबाट विभिन्न ठाउँमा छरिए ।

    जित्तिसिंह सोताङले साल्पा फेदीमा खेतीपाती र पशुपालनको लागि फरकफरक ठाउँ छुट्याएका थिए । ती ठाउँहरू अद्यावधि कायम छन् । जित्तिसिंह सोताङले रोपिराखेको सोताङ भाषा र सोताङ संस्कृतिको बीउबिजन फैलिएर आजसम्म सन्तान दरसन्तानहरूले पुर्खाको सम्पत्तिको रूपमा जीवित राखेका छन् । साल्पा फेदीआसपासका सबै गाउँमा स्थानीय भाषाको रूपमा सोत्तोरिङ अर्थात् सोताङ भाषा प्रचलनमा रहेको छ ।

    मोहनसिंह सोताङ 

    सम्बन्धित समाचार