शुक्रवार, श्रावण १ २०७८
नेपाल वाइड
खोटाङ । साउन १, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले अदालतमा विचाराधिन रहेको अवस्थामा प्रअ नियुक्ती गर्नेगरी गरेको शिक्षक दरबन्दी मिलानका निर्णयलाई कार्यान्वयन गर्न निर्देशन दिएको भन्दै दुई शिक्षक संगठन बिरोधमा उत्रिएका छन् ।
नगरपालिकाले हरेक माबिमा स्थायी मावि शिक्षकलाई प्रअ बनाउने लक्ष्यकासाथ दरबन्दी मिलान गरेको विषयमा उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा परेको मुद्धा विचाराधिन रहेको अवस्थामा सम्वन्धित तहका स्थायी शिक्षकलाई निमित्त प्रधानाध्यपकको जिम्मेवारी दिन र नियमानुसार प्रअको नियुक्ति प्रकृया अगाडि बढाउन निर्देशन दिएपछि नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत नेपाल शिक्षक संगठन हलेसी तुवाचुङ नगर कमिटिले विज्ञाप्तीमार्फत ध्यानाकर्षण भएको जनाएका हुन् ।
२०७६ सालदेखि शैक्षिक सुधार वर्षको अभियान थालेको नगरपालिकाले २०७७ साल पुस १ गते दरबन्दी मिलान गर्दै सबै मावि तहकै शिक्षक पठाउने र विस्तारै तिनै मावि शिक्षकलाई प्रअको जिम्मेवारी दिलाउने निर्णय गरेको थियो ।
सोही निर्णयलाई गत असार मसान्तभित्र कार्यान्वयनका लागि नगर शिक्षा समितिको असार २० गतेको निर्णय अनुसार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईले सम्वन्धित विद्यालय व्यवस्थापन समितिलाई असार २४ गते पत्राचार गरेको थियो ।
कतिपय सामुदायिक विद्यालयमा सम्वन्धित तहको स्थायी शिक्षक हुँदाहुँदै तल्लो तहका शिक्षक समेत प्रअको जिम्मेवारीमा रहेको पाइएकाले शिक्षा नियमावली २०५९ को नियम ९३ (१२) तथा नगर शिक्षा ऐन २०६७ को दफा ५० बमोजिम तत्कालका लागि सम्वन्धित तहका स्थायी शिक्षकलाई असार मसान्तभित्र नियमानुसार प्रअको नियुक्ति प्रकृया अगाडि बढाएर नगर शिक्षा शाखामा जानकारी गराउन भनिएको थियो । निर्देशन कार्यान्वयन नभए कानून बमोजिम कारबाहीको प्रकृया अगाडि बढाइने नगरको पत्रमा उल्लेख छ ।
प्रावि वा आधारभुत तहका शिक्षक प्रअ हुने तर मावि तहका शिक्षक सहायक शिक्षक हुने व्यवस्था अन्त्य गर्दै माथिल्लो तहका स्थायी शिक्षकलाई नेतृत्व दिनेगरी नगरपालिकाले हरेक माबिमा स्थायी शिक्षकको व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो ।
उच्च शिक्षा हासिल गरेका तथा क्षमतावान शिक्षकले माविको नेतृत्व पाउँदा अन्य शिक्षकको मनोवल समेत उच्च हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाको यो निर्णयले प्रावि वा आधारभुत तहका शिक्षकलाई मावि तहको प्रअ हुनबाट रोक लगाएको छ ।
योग्य शिक्षकलाई प्रअ बनाउने नगरको निर्णय स्वागतयोग्य भए पनि अदालतमा विचाराधिन मुद्धाको अन्तिम फैसला नभएसम्म प्रअ नियुक्ती प्रकृयालाई स्थगन गर्नुपर्ने दुई शिक्षक संगठनको माग छ । ‘नगरभित्र सबै सामुदायीक विद्यालयमा सम्वन्धित तहको स्थायी शिक्षकमध्येबाट योग्य शिक्षकलाई प्रअ नियुक्ती गर्ने विषय स्वागतयोग्य कुरा हो ।
तर सो को विरुद्ध उच्च अदालतमा मुद्धा विचाराधिन रहेको अवस्था छ,’ संयुक्त विज्ञाप्तीमा भनिएको छ, ‘त्यस मुद्धालाई प्रत्यक्ष प्रभाव पार्ने नियतले असार २० गते गरिएको यो निर्णयप्रति घोर भत्र्सना गर्दछौँ ।’ उच्च अदालतमा विचाराधिन मुद्धालाई प्रभावित पार्ने मनसायले सो मुद्धा समेतको बेवास्ता गरी पत्राचार गरिएको विज्ञाप्तीमा दावी गरिएको छ ।
शिक्षकको विभेदपूर्ण सरुवा गरिएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन र एकिकृत अखिल नेपाल शिक्षक संगठन हलेसी तुवाचुङ नगर कमिटिले सुरुदेखि नै बिरोध जनाइरहेका छन् । सो विरुद्ध असन्तुष्ट शिक्षक एबं विव्यास अध्यक्षले अदालतमा मुद्धा हालेका थिए । ११ वडा रहेको नगरपालिकामा १२ वटै माबि छन् ।