मंगलवार, श्रावण ५ २०७८
नेपाल वाइड
खोटाङ । साउन ५, आर्थिक वर्ष २०७७/०७८ मा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वित्तीय प्रगती जम्मा ८६.२५ प्रतिशत भएको छ ।
आर्थिक वर्ष २०७७/०७८ का लागि ९३ करोड ४६ लाख ६८ हजार विनियोजन गरिएकामा ९२ करोड ३८ लाख ७९ हजार आम्दानी हुँदा पुँजीगततर्फ ८१.१३ प्रतिशत र चालुतर्फ ८९.७० प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ ।
कुल विनियोजित बजेटमध्ये पुँजीगततर्फ ३० करोड ५४ लाख २२ हजार र चालुतर्फ ५० करोड ७ लाख ५७ हजार गरी ८० करोड ६१ लाख ७९ हजार खर्च भएको मेयर दिपनारायण रिजालले बताए ।
आर्थिक वर्ष २०७७/०७८ सम्ममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पाँच वडाका ११५ रोपनी बाँझो जग्गामा नगदे बालीको खेती लगाइएको छ ।
‘बाँझो जमिनमा खेतीको लागि अनुदान’ कार्यक्रम अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा रहेको बाँझो जग्गामा अदुवा, बेसार, अलैची, फलफूल तथा खाद्यान्न बाली लगाइएको हो ।
तीन वर्षदेखि बाँझिएको जग्गालाई कृषि कर्ममा उपयोगमा ल्याउनका लागि ‘दिक्तेल रुपाकोट मझुवागढ़ी नगरपालिकाको बाँझो जमिन उपयोग सम्बन्धी कार्यविधि–२०७७’ बमोजिम १० किसानलाई अनुदान उपलब्ध गराइएको मेयर रिजालले बताए ।
कृषि पकेट क्षेत्र विकास कार्यक्रम अन्तर्गत स्थानीय सम्भाव्यता एवं राष्ट्रिय महत्वका आधारमा ‘एक वडा–एक पकेट कार्यक्रम’ सञ्चालन गरेर कृषकलाई व्यवसायिक कृषितर्फ उन्मुख गराइएको, चालु आर्थिक वर्षदेखि तिनै कृषि पकेटबाट उत्पादित उपजलाई लेबलिङ र प्याकेजिङ गरेर बजारमा बिक्री वितरण गर्ने वातावरण बनाउने, युवालाई कृषि व्यवसायमा आकर्षित गरी आधुनिक प्रविधियुक्त कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले युवा उद्यमी कृषि विकास कार्यक्रमबाट नमूना कृषि तथा पशुपन्छी फर्म निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।