शुक्रवार, श्रावण ८ २०७८
नेपाल वाइड
खोटाङ । साउन ८, दोश्रो म्याद गुज्रिँदा पनि खोटाङको दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजनाको काम सम्पन्न हुन सकेको छैन । १८ महिनाभित्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजार तथा आसपासका वडामा प्रशोधित एबं शुद्ध पानी वितरण गर्ने लक्ष्यकासाथ २०७५ साल चैत १४ गतेदेखि सुरु गरिएको योजनाको काम हालसम्म ९० प्रतिशत पुरा भएको कन्सल्टेन्ट इन्जिनियर रामबिक्रम दाहालले बताउनुभयो ।
२०७७ साल असोज ११ गतेसम्ममा पूरा गर्ने गरी २०७५ साल चैत १३ गते सम्झौता गरेको निर्माण कम्पनीले सम्झौता म्यादभित्र आयोजनाको काम सम्पन्न नगरेपछि २०७७ साल फागुन ११ गतेसम्म पहिलो र २०७८ साल असार ११ गतेसम्मको दोश्रो म्याद थप गरिएको थियो ।
बढ्दो शहरीकरणका कारण दिक्तेलबजारमा बढ्दो खानेपानीको अभाव हल गर्नका लागि रम्बाखोला, माझखोला र काउले मुहान भएको खानेपानी आयोजनाबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका १ हजार ४९ घर स्थानीयलाई प्रशोधन गरिएको स्वच्छ तथा गुणस्तरिय खानेपानी उपलव्ध गराउने लक्ष्य राखिएको रम्वा खोला–माझ खोला शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष धनकुमार जोशीले बताउनुभयो ।
थामखोरेडाँडामा निर्माण गरिएको ट्यांकी टेढो बनेपछि वरपरबाट अर्को जाली हालेर ढलान गरेर सोझो पारिएको थियो । आफ्नो गाउँको मुहान अन्यत्र लान खोजिएको भन्दै सोल्माका स्थानीयले अवरोध गरेपछि सोल्मा र नेर्पाका स्थानीयका लागि समेत छुट्टै योजना दिइएको अध्यक्ष जोशीले बताउनुभयो ।