Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    महुरे–सिमपानी सडक :

    महुरे–सिमपानी सडक कालोपत्रेको काम ठप्प

    महुरे–सिमपानी सडक कालोपत्रेको काम ठप्प

    सडक कालोपत्रेको काममा स्थानीय व्यवसायी तथा कामदारले गरेको अवरोध फुकाउने विषयमा हालसम्म कसैको ध्यान पुगेको छैन

    • आइतवार, श्रावण १७ २०७८

    • नेपाल वाइड


    महुरे–सिमपानी सडक कालोपत्रेको काम ठप्प
    महुरे–राजापानी (सिमपानी) सडक खण्ड

    खोटाङ । साउन १७, भुक्तानी नपाएको भन्दै स्थानीय कामदार तथा व्यवसायीले खोटाङको महुरे–राजापानी (सिमपानी) सडक कालोपत्रेको काम ठप्प बनाएका छन् ।

    तीन वर्षबित्दा समेत काम गरे वापतको पारिश्रमिक नपाएको तथा निर्माण कम्पनीलाई दिइएको उधारो सामानको भुक्तानी नपाएको भन्दै बुईपा, विजयखर्क र राजापानीका स्थानीय कामदार तथा व्यवसायीले गाईघाट–दिक्तेल सडकको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक खण्ड अन्तरगत महुरे–राजापानी (सिमपानी) सडक कालोपत्रेको काम ठप्प बनाएका हुन् ।

    काम गरेवापतको पारिश्रमिक तथा होटल, हार्डवेयर, खाद्य सामग्री वापतको भुक्तानी नपाएका स्थानीय कामदार र व्यवसायीले निर्माण कम्पनी भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीको ट्रक, टिफर र ट्याक्टरको चाँबी नियन्त्रणमा लिएर काम रोकेका हुन् ।

    सडकको काममा चरम ढिलासुस्ती भएको, भएका काम पनि गुणस्तहिन भएको र कार्यरत कामदारले वर्षौँसम्म पनि पारिश्रमिक नपाएको बिरोधमा २०७६ साल पुस २० गतेदेखि महिना दिन र फागुन ८ गतेदेखि २ दिन सडकको काम ठप्प बनाएका स्थानीयले पुःन सोही मागमा महुरे–राजापानी (सिमपानी) (२२ किलोमिटर) सडक कालोपत्रेको काममा अवरोध सिर्जना गरेका हुन् ।

    स्थानीय कामदार तथा व्यवसायीको अवरोधका कारण सडकको काम ठप्प बनेको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ । खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले भने कामदार तथा व्यवसायीले निर्माण कम्पनीको सवारी साधनको चाँबी नियन्त्रणमा राखेको विषयमा दुबैपक्षबाट जानकारी नआएको बताउनुभयो ।

    सडक कालोपत्रेको काममा स्थानीय व्यवसायी तथा कामदारले गरेको अवरोध फुकाउने विषयमा हालसम्म कसैको ध्यान पुगेको छैन । काम गरेवापतको कामदारको पारिश्रमिक तथा होटल, खाद्यान्न र हार्डवेयरको भुक्तानी नपाएसम्म काम अघि बढाउन नदिइने बुईपाका व्यवसायी मोहन श्रेष्ठले बताउनुभयो ।

    कामदार तथा व्यवसायीले निर्माण कम्पनीबाट २८ लाख पाउन बाँकी रहेको बताएका छन् । निर्माण कम्पनी भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीका सुपरभाइजर गणेशप्रसाद तिम्सिनाले भने गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले दुई वर्ष यता बील भुक्तानी नदिएकाले कामदार तथा व्यवसायीको बक्यौता रकम भुक्तानी दिन नसकिएको बताउनुभयो ।

    तर, गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर (डिई) गोपाल खकुरेलले भने निर्माण कम्पनीले सडक कालोपत्रेको काममा सम्झौता अनुसारको प्रगती देखाउन नसक्दा भुक्तानी दिन नसकिएको बताउनुभयो ।

    झण्डै दुई वर्ष यता सडकको काम सन्तोषजनक देखिन्न । अवरुद्ध काम सुरु गर्ने र विचैमा रोक्ने क्रम चल्दा सडकको प्रगती नदेखिएको हो । कालोपत्रे गरेर चिल्ला हुनुपर्ने सडकमा हिलो र धुलोको कारणले यात्रा गर्नै सकस भइरहेको बुईपाका स्थानीय मिलन राईले बताउनुभयो ।

    सडक कालोपत्रेको काममा ढिलासुस्ती गरेकामा भारत कन्ट्रक्सन/सिद्धी शाहीबाट करिब साँढे ६ करोड बैंक ग्यारेन्टी तानिसकिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ ।

    सम्बन्धित समाचार