Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    साप्सु खोलाको निर्माणाधिन मोटरेबल पुल बनिनसक्दै सञ्चालनमा ल्याइए

    साप्सु खोलाको निर्माणाधिन मोटरेबल पुल बनिनसक्दै सञ्चालनमा ल्याइए


    • मंगलवार, श्रावण १९ २०७८

    • नेपाल वाइड


    साप्सु खोलाको निर्माणाधिन मोटरेबल पुल बनिनसक्दै सञ्चालनमा ल्याइए
    साप्सु खोलाको नवनिर्मित पुलमा गाडी पार गराउनेक्रममा गाउँपालिका अध्यक्ष भूपेन्द्र राई लगायत । तस्बिर : दिप्रुङ चुईचुम्मा गाउँपालिका

    खोटाङ । साउन १९, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सु खोलाको निर्माणाधिन मोटरेबल पुल सञ्चालनमा ल्याइएको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने साप्सु खोलाको प्रिस्ट्रेस बिम मोटरेबल पुल पूर्णरुपमा बनिनसक्दै सञ्चालनमा ल्याइएको हो ।

    पुलको ग्याबिन वाल, एप्रोच स्ल्याव, वेयरिङकोट र पेन्टिङको काम नहुँदै पुल सञ्चालनमा ल्याइएको हो । सोमबार गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले प्रयोग गर्दैआएको गाडी तारेर पुल सञ्चालनमा ल्याइएको गाउँपालिकाका असिस्टेन्ट सव–इन्जिनियर सरगम राईले बताए ।

    निर्माण कम्पनी सुर्य एण्ड सन्स प्रालिले ४० मिटर लम्बाई भएको प्रिस्ट्रेस बिम पुलको बिम तथा स्ल्याव ढलानको काम बैसाख १८ गते सम्पन्न गरेको थियो । सम्झौता अनुसारको काम सम्पन्न गर्न बाँकी रहेपनि वर्षा याममा पुलबाट आवत–जावत गर्न समस्या नहुने गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।

    ‘वर्षा याममा हुने प्राकृतिक नाकाबन्दी तोड्ने काम गरिएको हो,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘अव वर्षा याममा पुलकै अभावमा हुने आवत–जावतमा अवरोध हुने छैन ।’ संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान तथा दिप्रुङ चुईचुम्मा गाउँपालिकाको संयुक्त वजेटमा साप्सु खोलामा पक्कीक पुल निर्माण सुरु गरिएको थियो ।

    सुर्य एण्ड सन्स प्रालिले २०७८ साल जेठ १७ गते प्रिस्ट्रेस बिम पुल निर्माणको काम सम्पन्न गर्नेगरी २०७६ साल जेठ १७ गते सम्झौता गरेको थियो । मुल्या अभिबृद्धि कर सहित ५ करोड ६० लाख १० हजार ५४५ मा पुलको ठेक्का लिएको निर्माण कम्पनीले शिलान्यास भएको ६ महिनापछि मात्र काम सुरु गरेको थियो । पुल निर्माणमा गाउँपालिकाको ४५ प्रतिशत खर्च भएको गाउँपालिका अध्यक्ष राईले बताए ।

    स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी)को प्राविधिक सहयोगमा निर्माण सुरु गरिएको पुल दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष राईले २०७६ साल असार ११ गते शिलान्यास गरेका थिए । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणकाक्रममा लागू गरिएको लकडाउनकाबेला पनि पुल निर्माणको कामलाई निरन्तरता दिएको सुर्य एण्ड सन्स प्रालिका प्रोजेक्ट ईन्चार्ज एबं एकाउन्टेन्ट हरिप्रसाद बरालले बताए ।

    दिक्तेलबाट खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिका पुग्ने सबैभन्दा छोटो रुटमा पर्ने साप्सु खोलामा स्थायी आवतजावतका लागि प्रिस्ट्रेस बिम पुल निर्माणको काम अघि बढाइएको हो ।

    प्रिस्ट्रेस बिम पुल बीममा तार घुसाए तार तन्काएर तारमा लोड दिएर निर्माण गरिने प्रकृतिको पुल हो । विशेषगरी दिप्रुङ गाउँपालिका र खानीडाँडा बिमानस्थललाई जोड्ने गरी साप्सु खोलामा पुल निर्माणको काम अघि बढाइएको थियो ।
    सडकको बीचमा पर्ने खोलामा पक्की पुल निर्माणका लागि गाउँपालिकाले २०७४ साल कार्तिक २९ गते सडक बिभाग पाटनढोका ललितपुरमा निबेदन दिएको थियो ।

    साप्सु खोलामा पक्की पुल निर्माण भएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिकाको याम्खा, टेम्मा, डाँडागाउँ, छितापोखरी, बतासे, छोरम्बु, चिप्रिङ लगायतका स्थानीयलाई साविकको सदरमुकाम दिक्तेल आउ–जाउ गर्ने सवैभन्दा छोटो बाटो खुल्ने छ ।

    सम्बन्धित समाचार