बुधवार, श्रावण २७ २०७८
नेपाल वाइड
खोटाङ । साउन २७, सामाजिक सुरक्षा परिचय–पत्र नवीकरण तथा वितरणका लागि खोटाङको साकेला गाउँपालिकाले घुम्ती शिबिर आयोजना गरेको छ ।
सबै प्रकारका सामाजिक सुरक्षा भत्ता लिइरहेका लाभग्राहीको समस्यलाई मध्यनजर गर्दै गाउँपालिकाले गाउँ–गाउँमै पुगेर सामाजिक सुरक्षा परिचय–पत्र नवीकरण तथा वितरणका लागि घुम्ती शिबिर आयोजना गरेको हो ।
व्यक्तिगत घट्ना दर्ता तथा सामाजिक सुरक्षा सुदृढिकरण आयोजना अन्तरगत सामाजिक सुरक्षा परिचय–पत्र नवीकरण तथा वितरणका लागि गाउँपालिकाका तीन स्थानमा घुम्ती शिबिर आयोजना गरिएको गाउँपालिकाका एमआइएस अपरेटर डिएम चाम्लिङले बताए ।
सामाजिक सुरक्षाभत्ता लिँदै आएका ज्येष्ठ नागरिक, एकल महिला, अशक्त/अपांगता भएका व्यक्ति तथा बालबालिकाको सामाजिक सुरक्षा परिचयपत्र नवीकरण तथा वितरणका लागि साउन २४ गते जालपा आधारभुत विद्यालय बाँझेच्यानडाँडा र साउन २५ गते चण्डेश्वरी आधारभुत विद्यालय बाँझेच्यानडाँडामा शिबिर सम्पन्न भइसकेको छ ।
मंगलबार र बुधबार साकेला गाउँपालिका–५ मात्तिमविर्ताको कार्यालयमा सामाजिक सुरक्षा परिचय–पत्र नवीकरण तथा वितरण सम्वन्धी घुम्ती शिबिर कार्यक्रम राखिएको गाउँपालिकाले जनाएको छ ।
नेपाली नागरिकता, सामाजिक सुरक्षा परिचय–पत्र, अशक्त/अपांगता भएका व्यक्ति र वालबालिकाको हकमा परिचय–पत्र तथा जन्मदर्ता सहित तोकिएका शिबिर स्थलमा स्वयं वा संरक्षक उपस्थित भएर सामाजिक सुरक्षा परिचय–पत्र नवीकरण गर्ने व्यवस्था मिलाइएको एमआइएस अपरेटर चाम्लिङले बताए ।
सामाजिक सुरक्षा भत्ता शिर्षकको लाखौं रकम चुहावट भइरहेको खुलासा भएको केही समयपछि ५ वडा रहेको गाउँपालिकाले गत वर्षदेखि बैंकमार्फत सम्वन्धित व्यक्तीको हातमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दैआएको छ ।
साकेला गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा मात्र ८७ लाख ४१ हजार ६ सय रुपैयाँ रकम चुहावट भएको प्रतिवेदन सार्वजनिक भएको थियो । वडा–वडामा मृत्यु भइसकेका, बसाई सरिसकेका वा अन्य व्यक्तीको नाममा ‘फेक डकुमेन्ट’ बनाएर सामाजिक सुरक्षा भत्ता दुरुपयोग भइरहेको पाइएपछि गाउँपालिकाले सो अनियमितता रोक्न अभियान नै चलाएको थियो ।