Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजना :

    निर्माण कम्पनीकै लापरवाहीका कारण ट्रिटमेन्ट प्लान्टको कम्पाउण्ड वाल भत्कियो

    निर्माण कम्पनीकै लापरवाहीका कारण ट्रिटमेन्ट प्लान्टको कम्पाउण्ड वाल भत्कियो

    ‘ठेकेदारले पर्खालको जग बलियो बनाएन । मेसिनरी वालको बिच–बिचमा पिलर पनि दिइएन,’ अध्यक्ष जोशीले भने, ‘भत्किएको भागलाई अहिले छोपेर राखिएको छ ।

    • बिहिवार, श्रावण २८ २०७८

    • नेपाल वाइड


    निर्माण कम्पनीकै लापरवाहीका कारण ट्रिटमेन्ट प्लान्टको कम्पाउण्ड वाल भत्कियो
    दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजनाको ट्रिटमेन्ट प्लान्टको कम्पाउण्ड पर्खालको भत्किएको खण्ड ।

    खोटाङ । साउन २८, खोटाङको दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजनाको ट्रिटमेन्ट प्लान्ट (पानी प्रशोधन केन्द्र)को कम्पाउण्ड पर्खाल भत्किएको छ । भारी वर्षाका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको निगालेस्थित ट्रिटमेन्ट प्लान्टको पुर्वतर्फको कम्पाउण्ड पर्खाल ढलेको हो ।

    लगातारको वर्षाका कारण ट्रिटमेन्ट प्लान्टको कम्पाउण्डको मेसिनरी वालको करिब ४०/५० मिटर भाग भत्किएको छ । गत वर्ष नै चर्किएको कम्पाउण्डको पर्खाल यसपल्टको वर्षामा भत्किएको स्थानीय धनीराम राई नछुङले बताए । अग्लो कम्पाउण्डको मेसिनरी वाल भत्किँदा सुरक्षागार्ड बस्ने घरको पेटीसम्म पहिरो निस्किएको छ ।

    गत वर्ष चर्किएको केही भागमा भने ग्याविन वाल हालेर टेवा दिइएको थियो । निर्माण कम्पनी आशिष निर्माण सेवा प्रालिले कमजोर जगबाट मेसिनरी वाल हालेकाले पहिरो गएको नछुङले बताए । ‘बलियो जग नभेटी पर्खाल उठाइएकाले पहिरो गएको हो । कामको गुणस्तरमा पनि प्रश्न उठेको छ,’ राईले भने, ‘अहिले पहिरोले पर्खाल लग्यो । यस्तै हो भने ट्रिटमेन्ट प्लान्टको ट्यांकी नै फुट्ने खतरा देखिएको छ ।’

    लगातारको वर्षाका कारण दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजनाको ट्रिटमेन्ट प्लान्ट (पानी प्रशोधन केन्द्र)को कम्पाउण्ड पर्खाल भत्किएको हो । हाल भत्किएको पर्खालको केही भागलाई प्लाष्टिकले छोपिएको छ ।

    20210811_122359.jpg

    दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजनाको ट्रिटमेन्ट प्लान्टको कम्पाउण्ड पर्खालको भत्किएको खण्ड ।

    निर्माण कम्पनीकै लापरवाहीका कारण ट्रिटमेन्ट प्लान्टको कम्पाउण्ड वाल भत्किएको रम्वा खोला–माझ खोला शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष धनकुमार जोशीले बताए । ‘ठेकेदारले पर्खालको जग बलियो बनाएन । मेसिनरी वालको बिच–बिचमा पिलर पनि दिइएन,’ अध्यक्ष जोशीले भने, ‘भत्किएको भागलाई अहिले छोपेर राखिएको छ ।

    वर्षा कम भएपछि ठेकेदार आफैले पुरानो बजेटमै पर्खाल बनाउँछ ।’ १८ महिनाभित्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजार तथा आसपासका वडामा प्रशोधित एबं शुद्ध पानी वितरण गर्ने लक्ष्यकासाथ २०७५ साल चैत १४ गतेदेखि योजनाको काम सुरु गरिएको हो । आयोजनाको म्याद नाघेको १० महिना बित्दा करिब ९० प्रतिशत मात्र काम सम्पन्न भएको कन्सल्टेन्ट इन्जिनियर रामबिक्रम दाहालले बताए ।

    यता, निर्माण कम्पनीकै लापरवाहीका कारण कमजोर संरचना निर्माण भईरहेको प्रति सरोकारवाला निकायहरु भने बेखबर छन । जिल्लाकै ठुला खानेपानी आयोजनाका रुपमा निर्माण भइरहेको दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजना निर्माण पुरा नहुदै संरचना भत्किनुले आयोजना टिकाउमै गम्भिर प्रश्न उठेको छ ।

    बढ्दो शहरीकरणका कारण दिक्तेलबजारमा बढ्दो खानेपानीको अभाव हल गर्नका लागि नेपाल सरकार, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, शहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत) आयोजनाको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत गरी २२ करोड ५५ लाख ५८ हजार ८७९ (भ्याट सहिट) रुपैयाँको लागतमा पुरा गर्नेगरी आयोजनाको काम थालिएको हो ।

    थामखोरेडाँडामा निर्माण गरिएको ट्यांकी टेढो बनेपछि वरपरबाट अर्को जाली हालेर ढलान गरेर सोझो पारिएको थियो । आफ्नो गाउँको मुहान अन्यत्र लान खोजिएको भन्दै सोल्माका स्थानीयले अवरोध गरेपछि सोल्मा र नेर्पाका स्थानीयका लागि समेत छुट्टै योजना दिइएको अध्यक्ष जोशीले बताए ।

    सम्बन्धित समाचार