Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    डेढ महिनामै भत्कियो विद्यालयको नवनिर्मित संरचना

    डेढ महिनामै भत्कियो विद्यालयको नवनिर्मित संरचना


    • शनिवार, श्रावण ३० २०७८

    • नेपाल वाइड


    डेढ महिनामै भत्कियो विद्यालयको नवनिर्मित संरचना
    भलपानीले क्षती पुर्‍याएको अन्नपूर्ण माबिको पर्खाल तथा घेरावारा ।

    खोटाङ । साउन ३०, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा बुवालुङस्थित अन्नपूर्ण माबिको पर्खाल तथा सिँढी निर्माण गरेको डेढ महिनामै भत्किएको छ ।

    संघीय शसर्त अनुदान अन्तरगत आर्थिक वर्ष २०७७/०७८ मा प्राप्त भएको २० लाख १६ हजारमा निर्माण गरिएको पर्खाल, सिँढी तथा तारवार केही महिनामै भत्किएको हो । पर्खाल तथा सिँढी योजना अन्तरगत बनाइएको तारवार वर्षाको भलले खोतलेर भत्काइदिएको छ ।

    गुणस्तरहिन काम भएको र भल जाने ठाउँ नकाटिएका कारण पर्खाल, सिँढीमा भन्दा तारबारमा सवैभन्दा बढी क्षती हुन पुगेको छ । गत चैत १७ गते सम्झौता गरिएको विद्यालयको पर्खाल तथा सिँढी निर्माणको काम बैसाख १५ गते सम्पन्न गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जनाएको छ । विद्यालयको भौतिक संरचना एक वर्षा पनि नटिकेपछि योजनाको गुणस्तरमाथि प्रश्नचिन्ह खडा गरेको छ ।

    भौगोलिक अवस्थाका कारण अन्नपूर्ण माबिको भवनहरु तल्लो र माथिल्लो गर्‍हामा बनाइएको छ । तल्लो भवनको अगाडि खेलमैदान निर्माण गरिएको छ । संघीय शसर्त अनुदानबाट सोही खेलमैदानको भित्तामा २ मिटर उचाई र ६५ मिटर लम्बाई भएको पर्खाल उठाइएको छ । पर्खाललाई माथिबाट खसेको ढुंगामाटोले पुरेको छ ।

    सोही खेलमैदानबाट माथिल्लो भवनमा निस्कने सिँढी निर्माण गरिएको छ । सिँढीको दायाँ–वायाँ पनि चर्किएको छ । यस्तै, खेलमैदानभन्दा माथिको डिलमा विद्यार्थीलाई लड्नबाट जोगाउनका लागि पेटीजत्रो ढलानमा फलामको खम्बा गाडेर तारजालीको बार हालिएको छ ।

    Wall Photo 1 .jpg
    भलपानीले क्षती पुर्‍याएको अन्नपूर्ण माबिको पर्खाल तथा घेरावारा ।

    तर, बिना रड हालिएको तारजालीको विभिन्न भागको सिमेन्टेड जग भलपानीका कारण चर्किएको र भत्किएको छ । कतिपय खम्बा र तारजाली खेलमैदानको डिलमा झुण्डिएको अवस्थामा देख्न सकिन्छ । दर्‍हो जग नहाली माटोमाथि तारजालीको बार हालिएका कारण भलले खोतलेर भत्किएको स्थानीयले बताएका छन् ।

    माथिल्लो ग्राउण्डमा भल जाने ठाउँ नबनाएका कारण वर्षामा जमेको भलपानीले खोतलेर मुनिका पर्खाल, सिँढी र तारबारमा क्षती पुगेको हो । विद्यालयमा ९० मिटर तारवारको सट्टा वढाएर १०७ मिटर तारवार हालिएको दावी गरिएको छ । बनाएको केही समयमै विद्यालयको पर्खाल तथा सिँढी जिर्ण बनेपछि अभिभावक भने असन्तुष्ट छन् ।

    ‘असार २९ मा फरफराक, साउन ७ मा भत्क्यो । अब भन्नुस् यस्को जिम्मेवारी को हो ?,’ स्थानीय गजेन्द्र राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्कुल प्रशासनलाई सोध्दा थाहा छैन भन्छ । स्कुलको हाताभित्र स्कुल प्रशासनलाई थाहा नदिइ निर्माणको काम हुन्छ की हुँदैन ? जसले गरेपनि कामको दिगोपनाका बारेमा सचेत हुनुपर्छ ।’ वर्षा सुरु हुनुअघि बनाइएको पर्खाल र सिँढी भलका कारण जिर्ण बनेको पर्खाल तथा सिँढी निमार्ण उपभोक्ता समितिले स्वीकार गरेका छन् ।

    दोर्पाचिउरीडाँडाका वडाध्यक्ष लिलाकुमार चौहानले भने गुणस्तरयुक्त काम गरेको भए पनि भल कटाउने कुलो बनाउन बेवास्ता गर्दा नवनिर्मित संरचनामा क्षती पुगेको बताए । सिँढी र पर्खाल भत्किएको विषयमा जानकारी आए लगत्तै सोही वजेटभित्र पुःनमर्मतका लागि निर्देशन दिइसकिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए ।

    सम्बन्धित समाचार