Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    वैदेशिक रोजगारको व्यथा :

    धन कमाएर ल्याउँछु भन्ने भुजेल १८ वर्षपछि यस्तो दुखद अवश्थामा फर्किए !

    धन कमाएर ल्याउँछु भन्ने भुजेल १८ वर्षपछि यस्तो दुखद अवश्थामा फर्किए !


    • सोमवार, श्रावण ३२ २०७८

    • नेपाल वाइड


    धन कमाएर ल्याउँछु भन्ने भुजेल १८ वर्षपछि यस्तो दुखद अवश्थामा फर्किए !
    मलेसिया पुगेको १८ वर्षपछि फर्किएका खोटाङ, बाक्सिलाका डम्बर भुजेल । तस्बिर सौजन्य : सिर्जना निरौला

    खोटाङ । साउन ३१, १८ वर्षअघि खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला घलेगाउँका डम्बर भुजेल मलेसिया जानका लागि घरबाट विदाई हुँदैगर्दा बुवा गोरे भनिने राजमान भुजेल र आमा भलमायाँ भुजेलले आफ्नो ‘दुःखका दिन गए, सुखका दिन सुरु भए’ भन्ने ठानेका थिए ।

    तर, परदेशमा पैसा कमाउने र परिवारमा सुख भित्र्याउने सपना बोकेर ऋण काढेर २०६० सालमा विदेसिएका डम्बरको सपना अधुरै रह्यो, सिंगो परिवारकै सपना चकनाचुर भयो । धन सम्पत्ती कमाएर फर्किन्छु भनेर हिँडेका डम्बरले पैसा त ल्याएनन् नै १८ वर्षपछि अपांगजस्तै बनेर घर फर्किएका छन् ।

    वैदेसिक रोजगारीका सिलसिलामा सन् २००३ मा कामदारका रुपमा मलेसिया पुगेका डम्बर सन् २००६ बाट पूर्णरुपमा परिवारदेखि सम्पर्क विहिन बनेका थिए । लामो समयसम्म घर नआउँदा र सम्पर्क नहुँदा डम्बर ‘जिवित छन् वा छैनन्’ भन्ने बारेमा घर परिवार नै अन्योलमा परेका थिए ।

    छरछिमेकले पनि उनी जिवित छन् भन्ने आश मारिसकेका थिए । सम्पर्क विहिन हुँदा परिवारले मायाँ मारिसकेका डम्बर १८ वर्षपछि साउन २९ गते बिहान ४ बजे घर आइपुगेका छन् । २४ वर्षको उमेरमा मलेसिया पुगेका डम्बर देब्रे हात नचल्ने र दाहिने खप्पर भित्र पसेको अवस्थामा फर्किएका हुन् ।

    उनले ६२ वर्ष पुगेका बुवा राजमानलाई चिन्न सके तर राजमानले छोरालाई चिन्न गार्‍हो भयो । ‘मान्छे त आइपुग्यो तर अपांग बनेर आयो । दायाँ खप्पर पुरै भित्र पसेको छ । देब्रे हात चल्दैन । भेस्ट लगाउन समेत देब्रे हातले भर दिँदैन,’ राजबिरले भने, ‘कडा स्वरमा बोल्न सक्दैन, सानो स्वरमा बोल्छ । हिँड्दा पनि विस्तारै हिँड्छ । आफै पानी ल्याएर खाना पकाएर खान सक्ने अवस्था समेत छैन ।’

    डम्बर विदेसिएको समय हिजो आज जस्तो फोनको सुविधा थिएन । चिट्ठीपत्रबाट सञ्चोविसञ्चो र हालखबर आदान–प्रदान हुन्थ्यो । मलेसिया पुगेको अढाई वर्षसम्म उनी चिट्ठीपत्र पठाएर परिवारको सम्पर्कमा रहे ।

    तर, सन् २००६ देखि डम्बर वेपत्ता भएका थिए । उनी सम्पर्क विहिन हुँदा परिवारमा चिन्ता छायो तर सोधीखोजी गर्ने कुनै माध्यम थिएन । कसैले ‘डम्बर ज्यूँदै छ, उतै बसिरहेको छ’ भन्ने अनुमान गर्थे, कसैले ‘उ वितिसकेको छ, नत्र घर सम्झन्थ्यो, परिवार सम्झेर आउँथ्यो’ भन्थे । परिवार सामु उनको बाटो हेरेर बस्नुको विकल्प रहेन ।

    एक दशकसम्म सम्पर्कमा नआउँदा उनको नाममा छाकसम्म छोडिए । डम्बर मलेसिया जाँदैगर्दा घरमा बुवा, आमा, तीन जना भाई र चार बहिनी थिए । त्यो बेलाका स–साना भाई बहिनी हुर्किर विवाह गरेर हाल आ–आफ्नो घरजम गरिसकेका छन् । डम्बरको बाटो हेर्दैबसिरहेकी आमा भलामायाँको ७ वर्षअघि मृत्यु भइसकेको छ ।

    २०७७ साल मंसिर ७ गते मलेसियामा एउटा पसल अगाडि अचेत अवस्थाका पुरुष भेटिए । अचेत अवस्थामा भेट्ने नेपालीले मरिसकेको भन्दै पहिचानका लागि उनको तस्बिर सामाजिक सञ्जालमा तस्बिर राखेका थिए । सामाजिक सञ्जालमा उनको ठेगाना खोटाङ उल्लेख गरिएको थियो ।

    सोही सूचनाको आधारमा केपिलासगढी गाउँपालिका र बालसेवा समाजको सहकार्यमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी)को मनोसामाजिक परामर्शदाता सिर्जना निरौलाले पनि उनको बारेमा सोधखोज सुरु गरिन् । त्यसपछि उनी बाक्सिला घले गाउँको डम्बर भुजेल भएको यकिन गरिएको थियो ।

    घरमा लास ल्याउने चर्चा चलिरहेकाबेला डम्बर अचेत मात्र भएकाले उद्धार गरेर अस्पतालमा पुर्‍याइएको जानकारी आयो । कुबेतमा रहेकी उनकी माईली बहिनी सविनाले पनि डम्बर जिवित रहेको भन्दै परिवारमा खबर गरिन् ।

    ‘फेसबुकमा आएको सूचनाको आधारमा सत्यतथ्य बुझ्दै जाँदा उहाँलाई टाउकोमा गम्भीर चोट लागेकाले अचेत मात्र भएको र अस्पतालमा उपचार भइरहेको पत्ता लाग्यो,’ मनोसामाजिक परामर्शदाता निरौलाले भनिन्, ‘लामो समयसम्म अवैधरुपमा बसिरहेका उहाँलाई नेपाल निकाल्नका लागि साथमा कुनैपनि डकुमेन्ट थिएन ।

    सामीकैतर्फबाट निरन्तर फलोअप गर्ने, कागजात तयार पार्न सहयोग गर्नेदेखि उद्धार गरेर नेपाल ल्याउन सहयोग गरिएको हो ।’ अन्ततः सामीको सहयोग र सहजीकरणमा डम्बर साउन २३ गते काठ्माण्डौं उत्रिएका थिए ।

    डम्बरलाई ६/७ महिनासम्म अस्पतालमा राखेर उपचार गरिएको थियो । टाउकाको दुई पल्ट अप्रेसन गर्नुपरेकै कारण उनलाई स्वदेश ल्याउनका लागि समय लागेको हो । उनी दुर्घट्नामा परेको अनुमान गरिएको छ । डम्बरलाई स्वदेश फर्काउनका लागि मलेसियास्थित नेपाली दुतावासले समेत सहयोग गरेको जनाइएको छ ।

    काठ्माण्डौं उत्रिएपछि उनलाई प्रवासी नेपाली समन्वय समिति (कानुनी सहायता जनअधिकार मञ्च)को क्वारेन्टिनमा राखिएको थियो । तर, स्वास्थ्यमा समस्या देखिइरहेकाले तीन दिनपछि नै परिवारको जिम्मा लगाइएको थियो ।

    डम्बर १८ वर्षसम्म ‘कसरी बसे र किन सम्पर्क विहिन बने’ भन्ने पाटो भने खुल्न बाँकी छ । छोराछोरी विवाह गरेर आ–आफ्नो सुतीखेतीमा लागेपछि घरमा एक्लै बसिरहेका राजमान मायाँ मारिसकेको छोरा फर्किएकामा सुसी पनि छन्, उत्तिकै दुःखी पनि । सकुसल विदेसिएका छोरा शारीरिक र मानसिकरुपमा अशक्त बनेर फर्कँदा राजमान चिन्तित छन् ।

    ‘कहीँ न कहीँ ज्यूँदै छ, भन्ने आशचै मरेको थिएन । तर, न घाँसपात गर्न सक्छ, न भारी बोक्न सक्छ । कसरी गरी खान सक्लान्,’ उनले भने, ‘विदेसबाट उसले एक पैसा पनि घरमा पठाएन । ऋणचैं ति¥यो होला । साहुले ऋण मागेको छैन ।’

    सम्बन्धित समाचार