Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    अफगानिस्तान युद्ध:

    उद्धार गर्न अमेरिकी भागदौडमाझ तालिबानद्वारा विजय भएको दाबी

    उद्धार गर्न अमेरिकी भागदौडमाझ तालिबानद्वारा विजय भएको दाबी


    • सोमवार, श्रावण ३२ २०७८

    • नेपाल वाइड


    उद्धार गर्न अमेरिकी भागदौडमाझ तालिबानद्वारा विजय भएको दाबी
    राषट्रपति कार्यालयमा तालिबान लडाकुहरु ।

    बीबीसी । अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबानले विजय भएको दाबी गरेका छन् । त्यहाँको सरकार गिरेको छ र राष्ट्रपति अशरफ गनी देश छाडेर भागेका छन् । तालिबानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै भने: "अफगानिस्तानमा युद्ध सकिएको छ ।" 

    "हामीले चाहेको कुरा प्राप्त गरेका छौँ, हाम्रो देशको मुक्ति अनि हाम्रा जनताको स्वतन्त्रता," उनले भने । उनले अब फेरि विदेशी शक्तिहरूले अफगानिस्तानमा तिनको विगतको विफल अनुभव नदोहोर्‍याउने आफूहरूले ठानेको बताए ।

    राष्ट्रपति अशरफ गनी उज्बेकिस्तानतर्फ गएपछि उनले विद्रोहीहरूले बलपूर्वक जितेको भन्दै अब अफगान जनताको इमान, सम्पत्ति तथा आत्मसम्मान रक्षा गर्ने जिम्मा पनि तिनैको भएको बताएका छन् ।

    आइतवार अबेर तालिबानहरू राष्ट्रपति भवनभित्र रहेका तस्बिर सार्वजनिक भएका थिए । तिनले राजधानी काबुलको ११ जिल्ला केन्द्र कब्जा गरेको दाबी गरेका छन् ।

    काबुलमा अराजकता छाएको छ र त्यहाँका निवासी एवम् विदेशी नागरिकहरू काबुलबाट बाहिर निस्कन खोजिरहेका छन् । अमेरिकी नेतृत्वको फौजले देश छाडेलगत्तै २० वर्षपछि त्यहाँ तालिबान फर्केको अवस्थाले कैयौँ अफगानहरू त्रसित बनेका छन् ।

    विमानस्थल अस्तव्यस्त

    काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका प्रत्यक्षदर्शीले बीबीसीलाई बताए अनुसार त्यहाँ कर्मचारीहरूले आफ्नो कार्यस्थल छाडेका र मानिसहरू जहाजतर्फ दौडिरहेका थिए । अमेरिकाले काबुलको रक्षाका लागि तैनाथ गरेको उसका ६ हजार फौजलाई अब विमानस्थल परिसरको सुरक्षामा खटाइने बताइएको छ ।

    अमेरिकी विदेश तथा रक्षा मन्त्रालयहरूले उनीहरूले विमानस्थलको रक्षाका निम्ति विभिन्न कदमहरू चालिरहेको ताकि अमेरिकी तथा गठबन्धन सदस्यहरूलाई गैरसैनिक एवै सैनिक विमानमार्फत् उद्धार गर्न सकियोस् भनेका छन् ।

    अमेरिकासहित पश्चिमा देशहरूले हतारहतार आफ्ना नागरिक तथा अन्यको काबुलबाट उद्धार गरिरहेको बताइएको छ । तालिबानको नियन्त्रणमा नआएको सबैभन्दा ठूलो सहर काबुल रहेको थियो । तालिबानले महिनौँदेखि अफगानिस्तानका विभिन्न क्षेत्रमा नियन्त्रण सुरु गरेको थियो ।

    पछिल्ला दिनहरूमा त्यो गति निकै तीव्र देखिएको छ ।  लगभग सबै विदेशी सैनिकहरूले अफगानिस्तान छाडेपछि उक्त विद्रोही समूहले आफ्नो नियन्त्रण कायम गर्न सफल भएको हो । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयको बचाउ गरेका छन् ।

    उनले अर्को देशको आन्तरिक द्वन्द्वमा कहिल्यै अन्त्य नहुने अमेरिकी उपस्थितिलाई आफूले उचित ठहर्‍याउन नसक्ने बताएका छन् । तालिबानले आइतवार आफ्ना लडाकूहरूलाई काबुलमा प्रवेश गर्न आदेश दिएको थियो । सुरुमा उसले आफ्ना लडाकूलाई काबुल वरिपरि मात्र तैनाथ गरेको थियो ।

    सुरक्षा फौजले राजधानीका भागहरू छाडेपछि त्यहाँ उत्पन्न अराजकता र लुटलाई रोक्न गइरहेको तालिबानले बताएको थियो । अल जजिरा टेलिभिजनले प्रसारण गरेका भिडिओ फुटेजहरूमा तालिबान लडाकूहरू राष्ट्रपति भवनभित्र हतियारसहित देखिएका छन् ।

     

     

    सम्बन्धित समाचार