Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    धर्म-संस्कृति

    कोरोना संक्रमणले दिक्तेलबजारमा लाखे नाच स्थगन

    कोरोना संक्रमणले दिक्तेलबजारमा लाखे नाच स्थगन


    • सोमवार, भाद्र ७ २०७८

    • नेपाल वाइड


    कोरोना संक्रमणले दिक्तेलबजारमा लाखे नाच स्थगन
    फायल तस्बिर

    खोटाङ । भदौ ७, विगतका वर्ष खोटाङका नेवार समुदायले लाखे नाच्दै गाईजात्रा मनाउने गरेका थिए । तर, यस वर्ष नेवार समुदायको गाईजात्रा सुनसान छ । जनैपूर्णीका दिनदेखि सुरु हुने लाखे नाच स्थगन गरिएको छ ।

    कोभिड–१९ को महामारीका कारण यसपल्ट कोठामा क्षमा पूजा गरेर लाखे नाच स्थगन गरिएको दिक्तेलबजार सामाजिक गुठीका सचिव नूरकाजी शैंजूले बताए ।

    ‘१२/१५ जनाको लाखे निकालेको भए पनि हुन्थ्यो, तर हामीले रोक्ने निर्णय गरेका छौँ,’ गुठीका सचिव शैंजूले भने, ‘कोठामा क्षमा पूजा गरेर लाखे नाचलाई स्थगन गरेका छौँ । यसपल्ट लाखे नाच निकाल्दैनौं ।’

    जिल्लामा कोभिड–१९ को संक्रमण दर तिव्र छ । संक्रमण फैलिएका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई सिल गरिएको छ ।

    कोभिड–१९ को संक्रमण फैलिने त्रासकै कारण लाखे नाच स्थगन गर्ने निर्णय गरिएको गुठीका सचिव शैंजूले बताए । संक्रमण फैलने त्रासकै कारण सोमबारको गाईजात्रा समेत सुनसान बन्न पुगेको छ ।

    गाईजात्राको दिन नेवार समुदायमा वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा मृतकको तस्बिर र गाईको तस्बिर राखिएको मन्दीर आकारको तामाचालाई सिंगारेर रामायण गाउँदै बजार परिक्रमा गराउने प्रचलन छ ।

    तर, कोरोना महामारीकै कारण यसपल्ट सम्वन्धित घर अगाडि मृतकको तामाचा निकालेर पूजा आजा गरि साँझमा सेलाईएको सचिव शैंजूले बताए ।

    ‘हरेक वर्ष मृतकको तामाचा बनाएर रामायण भजन गाउँदै बजार डुलाउने गरिएको थियो,’ शैंजूले भने, ‘यस वर्ष भने सम्वन्धित परिवारका सदस्य मात्रले घर अगाडि तामाचा निकालेर पुजा आजा गरि साँझमा सेलाईएको छ ।’ दिक्तेलकै मूलधारा, पात्ले पानीलगायतका ठाउँमा सामाजिक दुरी कायम गरेर तामाचा सेलाईएको गुठीले जनाएको छ ।

    सम्बन्धित समाचार